Logo

गरिब मुलुकले खोप नपाएपछि डब्लूएचओको चेतावनी



एजेन्सी, ६ माघ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले असमान नीतिका कारण कोरोना खोप वितरण प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । असमान नीतिका कारण विश्वले ‘विपत्तिपूर्ण नैतिक विफलता’ को सामना गर्नुपर्नेे औंल्याएका हुन् ।

सोमबार डब्लूएचओको कार्यकारी बोर्डको बैठकलाई सम्बोधन गर्दै महानिर्देशक टेड्रोसले कोरोना खोप पाउनबाट गरिब देश वञ्चिन भए महामारी अन्त्य नहुने चेतावनी दिए । गरिब देशका बूढाबूढी र जोखिममा रहेका मानिसले भन्दा धनी देशका युवा र स्वस्थ मानिसले पहिले कोरोना खोप पाउनु न्यायोचित नभएको जिकिर गरे ।

करिब ४९ धनी देशमा ३ करोड ९० लाख डोज कोरोना खोप उपलब्ध हुँदा कुनै गरिब देशमा २५ डोज पुगेको उनले सुनाए ।अहिलेसम्म चीन, भारत, रुस, अमेरिका र बेलायतले कोरोनाविरुद्धको खोप बनाएका छन् । अमेरिकी र जर्मन कम्पनीको संयुक्त लगानीमा बायोएनटेक फाइजर खोपको विकास भएको छ । यी सबै मुलुकले पहिले आफ्ना नागरिकलाई नै खोप उपलब्ध गराउँदै आएका छन् ।

महानिर्देशक टेड्रोसले अहिले विश्व समुदायमा देखिएको नैतिक विफलताका कारण गरिब देश र त्यहाँका नागरिकले ठूलो मुल्य चुकाउनुपर्ने अवस्था आउने चेतावनी दिँदै कोरोना खोपको वितरण नीतिमा सुधार गर्नुपर्ने बताए । कोरोना खोपको वितरणमा ‘म पहिले’ भन्ने नीति अपनाउँदा त्यो आत्मघाती सावित हुन सक्ने र नाफाखोरहरु सल्बलाउने सम्भावना रहने पनि उनको भनाइ थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्