Logo

५ सय एमाले कार्यकर्तासहित १७ हजार मारिएको जनयुद्धमा प्रचण्ड-नेपाल साँठगाँठको आरोप



काठमाडौं, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी विभाजन पछि केपी शर्मा ओली भर्सेस प्रचण्ड माधवकुमार नेपाल समूहबीच आरोप प्रत्यारोप चर्किदै गएको छ । दुवैले एक अर्कामाथि गम्भीर आरोपहरु लगाइरहेका छन् ।

माधवकुमार नेपालले प्रचण्डसँग दशकौं देखिको सहकार्य रहेको भनेपछि ओली पक्षले उनीमाथि जनयुद्धमा आफ्नै कार्यकर्ता मारिँदा समेत साँठगाँठको आरोप लगाउन थालेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले १७ हजार नागरिक बलिवेदीमा हुँदा देखि नै अघोषित सहकार्य र साँठगाँठ रहेको आरोप लगाएका छन् । उनले एमालेका पाँच सय नेता कार्यकर्ताको हत्यामा समेत साँठगाँठको आरोप लगाउँदै प्रचण्डपथमा माधव नेपाल समेत हिंड्न थालेको टिप्पणी गरेका छन् ।

सुर्य थापाले फेसबुकमा लेखेका छन्ः

मांसहारी अनुभव !
बलिवेदीमा १७ हजार नागरिक !!
उसैबेलादेखि अघाेषित सहकार्य र साँठगाँठ पाे !!!
प्रचण्डपथका शाेकमग्न नयाँ यात्रीहरूकाे साझा खुलासा ?
अनाहकमा जीवन गुमाउने ती निरपराध पाँच सय नेता-कार्यकर्ता बाँचिरहेका भए आज के पाे भन्थे हाेलान् ?
विराेधाभाषकाे पराकाष्ठा !

यसैगरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालमाथि पाँच सय एमाले कार्यकर्ताको हत्या प्रचण्डसँगको सहकार्यमा गराएको आरोप लगाएका थिए । सामाजिक सञ्जालमा उनले माधव नेपालले प्रचण्डसँगको सहकार्य सुरु देखि नै भनेको उल्लेख गर्दै पाँच सय एमाले कार्यकर्ताको हत्यामा जम्मेवार रहेको तर्क गरेका थिए ।

पोखरेलले यदु गौतमलगायत तत्कालिक एमालेका झण्डै ५ सय कार्यकर्ताको हत्यामा माओवादी संलग्न भएकाले सहकार्य हो भने माधव नेपालले पाटीविरुद्ध घात गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्