Logo

यी कम्पनीलाई दियो धितोपत्र बोर्डले ऋणपत्र निष्कासन गर्ने अनुमति



काठमाडौं, ६ माघ । आज नेपाल धितोपत्र बोर्डले ५ कम्पनीलाई ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको छ । मंगलबार ऋणपत्र निष्कासन गर्ने अनुमति पाएका कम्पनीहरु प्राइम कर्मर्सियल बैंक, कामना सेवा विकास बैंक, मञ्जुश्री फाइनान्स, कृषि विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक रहेका छन् ।

बोर्डले मञ्जुश्री फाइनान्सलाई ऋणपत्र निष्कासन गर्न पुस २६ गते अनुमति दिएको थियो । ८ वर्षको लागि वार्षिक ९.५ प्रतिशत ब्याजदरमा ५ लाख कित्ता ऋणपत्र कम्पनीले निष्कासन गर्ने भएको छ । कम्पनीले बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

कामना सेवा विकास बैंकले पनि ९ प्रतिशत ब्याजदरमा १० वर्षको लागि १० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने बोर्डबाट अनुमति पाएको छ । १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तरिकाले बिक्रि गर्ने जनाएको छ ।

कृषि विकास बैंकले ४ प्रतिशत ब्याजदरमा ६० लाख कित्ता ७ वर्षको लागि सम्म ऋणपत्र निष्कासन गर्ने बोर्डबाट अनुमति पाएको छ । माघ ४ गते ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको थियो । त्यस्तै, प्राइम कर्मर्सियल बैंकले ८.७५ प्रतिशत ब्याजदरमा ८ वर्षको लागि पुस २६ गते ऋणपत्र निष्कासन गर्ने बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ३५ लाख कित्ता निष्कासन गर्ने भएको छ । त्यसमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र २१ लाख कित्ता व्यक्तिगत तरिकाबाट बिक्रि गर्ने जनाएको छ ।

यसैगरी, एनसीसी बैंकलाई बोडले ९.५ प्रतिशत ब्याजदरमा १० वर्षका लागि ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने माघ ५ गते अनुमति पाएको छ । ३० लाख ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत तरिकाले बिक्रि गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्