Logo

कुन कुन नेतालाई गणतन्त्र जाने डर



काठमाडौं, ६ माघ । प्रतिनिधि सभा विघटनपछि उत्पन्न परिस्थितिलाई गणतन्त्र नै धरापमा पार्ने खेलका रुपमा लिन थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा गणतन्त्र समाप्त पार्न नदिने दृढता व्यक्त गरेपनि अहिलेको घटनाक्रमले उनीमाथि आशंका गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र बचाउन जुनसुकै मूल्य चुकाउने बताइसकेका छन् । उनले ओलीमािथ गणतन्त्र सिध्याउन लागेको आरोप लगाउँदै यसै हप्ता भने,‘हामीले ल्याएको गणतन्त्र बचाउन जुनसुकै मूल्य चुकाउन तयार छौं ।’ २१ सय वर्ष लामो राजतन्त्र र अढाई सय वर्ष पुरानो शाह वंश ढाल्न ७० वर्ष संघर्ष गरेको भन्दै प्रचण्डले कुनै हालतमा यसको हत्या नगर्ने बताए ।

गणतन्त्र बचाउन गम्भीर हुनेमा नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला पनि हुन् । उनले व्यवस्था बचाउने चुनौती आएको बताइसकेका छन् । शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निभाएका सिटौलाले गणतन्त्र ल्याउन पनि विशेष भूमिका खेलेका थिए । तत्कालिन राजा ज्ञानेन्द्रले नारायणहिटी छाड्दा सिटौला नै गृहमन्त्री थिए ।

नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल पनि गणतन्त्र ध्वस्त पार्न लागिएको आरोप ओलीमाथि लगाइरहेका छन् । उनले ओलीमा गणतन्त्रप्रति अपनत्व नभएको टिप्पणी गरेका छन् । गणतन्त्र बचाउन संघर्ष गरिने बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा वरिष्ठ नेता झलनाथ खनालले पनि ओलीमाथि राजनीतिक व्यवस्था नै खतरामा पारेको आरोप लगाएका छन् । उनले अहिलेको चुनौती राजनीतिक प्रणाली जोगाउनु रहेको बताएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ओलीले राजा ल्याए थाहा छैन तर नेपाली काँग्रेसले नल्याउने बताइसकेका छन् । हेटौंडा पुगेर उनले भनेका थिए,‘ओलीले राजा ल्याए थाहा छैन, काँग्रेसले ल्याउँदैन ।’ उनले आफूलाई तत्कालिन राजा ज्ञानेन्द्रले निकै दुःख दिएको देउवाको भनाई थियो ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संविधानलाई जोगाउने विषय उठाइरहेका छन् । उनले संविधान जोगाउनका लागि संसद पुनःस्थापना हुनुपर्नेमा जोड दिइरहेका छन् । पौडेलले संविधान जोगाउन जोड दिनुमा गणतन्त्र जोगाउने उद्देश्य पनि हो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि गणतन्त्र जोगाउनुपर्नेमा जोड दिदै आएका छन् । उनी ओलीका कारण व्यवस्था धरापमा परेको बताउँदै आएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीमाथि गणतन्त्र नै सक्याउन लागेको आरोप लगाएका छन् । गणतन्त्र ल्याउनमा महत्वपूर्ण भूमिका निभाएका भट्टराईमा यसप्रति अपनत्व देखिन्छ । उनी व्यवस्था जोगाउन पक्षधर दल र नेताहरुबीच एकतामा जोड दिइरहेका छन् ।

गणतन्त्र कुनै हालतमा खतरामा पर्न नदिने प्रधानमन्त्री ओलीको पनि भनाई रहेको छ । उनले गणतन्त्रको वकालत गर्दै आएका नेताहरुलाई बरु गणतन्त्रमाथि खतरामा पारेको आरोप लगाइरहेका छन् । विगतमा ओलीले गणतन्त्रका लागि भएको आन्दोलनमा नकारात्मक प्रतिक्रिया दिएका थिए । तर, त्यही आधारमा उनी अहिले गणतन्त्र विरोधी नभएको टिप्पणी नभएको होइन । यद्यपि, अहिलेको घटनाक्रमले राजनीतिक संकट बढेर गणतन्त्र नै धरापमा परेको कतिपयको बुझाई छ ।



प्रतिक्रिया दिनुहोस्