Logo

क्षेत्रीय विमानस्थल, पोखराको पौरख



काठमाडौं, माघ ७ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई निर्माण सक्न दिइएको ‘डेटलाइन’ आगामी जुलाई १० हो। बाहिरबाट झट्ट हेर्दा आयोजनाको गति तीव्र नै देखिन्छ।

गौरवका भनिएका अन्यत्रका ठूला आयोजनाको भौतिक प्रगतिमा निकै ढिलाइ भइरहँदा निर्माण थालेको झन्डै ३ वर्षको अवधिमा यो विमानस्थल निर्माणमा भएको प्रगतिलाई पोखरेलीले सन्तोषजनक रूपमै लिएका पनि छन्। किनकि समष्टिगत भौतिक प्रगति पनि करिब ७० प्रतिशत भइसकेको छ।

कोरोना भाइरस संक्रमणको कहरबीच पनि यो आयोजनाको काम निरन्तर भइरहेको थियो। कोरोनाले पनि नरोकिएको भनेर यो आयोजनाले पहिचान बनाएको पनि हो। यति धेरै काम भइसके पनि तोकिएको समयभित्र विमानस्थल सञ्चालनमा आउन भने मुस्किल छ।

कोरोनाकै कारण ठेकेदार कम्पनीका कतिपय चिनियाँ प्राविधिक काममा फर्किन सकेका छैनन् भने केही उपकरण ल्याउनै सकिएको छैन। छिटो गरी उपकरण र प्राविधिक भित्रिए पनि काम सकेर परीक्षण गर्दा उडान सुरु हुन थप समय लाग्नेछ।

विमानस्थल बनाउन खटिएका चिनियाँ प्राविधिक कोरोनाविरुद्धको खोप नलगाई आउन मानेका छैनन्। त्यस्तै धेरै उपकरण पनि अझै आउनै बाँकी छन्। ती प्राविधिक र उपकरण आउन ढिलाइ हुँदै गएर अरू भौतिक प्रगति सकिए पनि विमानस्थल सञ्चालनको मिति झनै पछाडि धकेलिने आयोजनाका पदाधिकारीको भनाइ छ।

भौतिक पूर्वाधार तयार भए पनि आन्तरिक तयारी भने झनै अपुरो छ। त्यसैले पनि तोकिएको समयमा विमानस्थल सञ्चालनमा आउन थप केही समय लाग्ने आँकलन आयोजनाको छ।

आयोजनाप्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको रन–वे, ट्याक्सी–वे, एप्रोन, ह्यांगरलगायत पूर्वाधार निर्माण भइसकेका छन्। विमानस्थल घेर्ने फेन्सिङ (बार)को काम सुरु भएको छ। त्यस्तै टर्मिनलसहित सबै १४ वटै भवन निर्माण सकिएर अहिले आन्तरिक डेकोरेसनको काम भइरहेको छ। ती भवनमा उपकरण जडानको काम भइरहेको छ। कतिपय उपकरण भने अझै आइपुगेका छैनन्।



प्रतिक्रिया दिनुहोस्