Logo

आज नेपाल आईपुग्दै कोरोना खोप



काठमाडौ, माघ ८ । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । खोपको पहिलो खेप बिहीबार नेपाल आइपुग्नेछ ।

नेपाल सरकारले भारतद्वारा अनुदानमा उपलब्ध गराइन लागेको खोप स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिनेलाई उपलब्ध गराइनेछ । भारतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने सम्बन्धमा बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले भारत सरकारबाट नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागिएको जानकारी दिए । उनले पहिलो चरणमा आउने खोप निःशुल्क उपलब्ध भएको भन्दै खोप क्रमशः भारतबाट ल्याइने जनाए ।

मन्त्रालयका अनुसार भारतबाट प्राप्त हुने कोभिसिल्ड खोप बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । कोरोनाविरुद्धको खोप आयातका लागि कानुनी, प्राविधिक र आर्थिक तयारीसमेत पूरा भएकाले पहिलो चरणमा खोप आएपछि क्रमशः दोस्रो, तेस्रो चरणमा समेत खोप आउने जानकारी मन्त्री त्रिपाठीले बताए ।

कोरोनाविरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा काम गर्नेलाई उपलब्ध गराइने जानकारी दिँदै उनले क्रमशः सबै नागरिकलाई उपलब्ध गराइने जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्