Logo

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन



काठमाडौं, माघ ८ । नेपाली कांग्रेसले आज देशभरका स्थानीय तहका सबै वडामा प्रदर्शन गर्ने भएको छ । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध कांग्रेसले उक्त कदम चालेको हो । प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको कांग्रेसले त्यसविरुद्ध चरणबद्ध विरोध प्रदर्शन गर्दै आएको छ । सोही क्रममा कांग्रेसले आज ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन गर्न लागेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले वडा तहमा हुने विरोध सभामा सहभागी हुन पार्टीका नेता तथा कार्यकर्तासहित सबैमा अपिल गरेका छन् । ‘अब वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानमा भएको व्यवस्था प्रतिकूल र जनभावनाविपरीत कार्यविरुद्ध नेपाली कांग्रेस एकमत छ ।’

पार्टीका सबै तहका नेताहरूलाई सहभागी हुन आग्रह गर्दै देउवाले भनेका छन्, ‘समस्त लोकतन्त्रवादीहरूलाई बिहीबारको विरोध प्रदर्शनमा सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्