Logo

कडा सुरक्षा व्यवस्थाका बिच बाइडेनको ह्वाईट हाउस प्रवेश



काठमाडौं, माघ ८ । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जोसेफ रोबिनेट बाइडेन जुनियरले बुधबारदेखि जिम्मेवारी सम्हालेका छन्। गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनबाट राष्ट्रपतिमा विजयी उनले बुधबार सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहण कार्यक्रममा कडा सुरक्षा व्यवस्था गरिएको थियो।

बाइडेनलाई यही जनवरी ६ मा अमेरिकी कंग्रेसले आधिकारिकता दिएको थियो। अमेरिकी कंग्रेसले बाइडेनको जितलाई आधिकारिकता दिने तयारी गर्दै गर्दा राष्ट्रपति ट्रम्पका समर्थकले संसद्भवनमा हमला गर्दा एक सुरक्षाकर्मीसहित पाँचजनाले ज्यान गुमाएका थिए। अमेरिकाको संविधानअनुसार राष्ट्रपतिका रुपमा निर्वाचित व्यक्तिले जनवरी २० बाट कार्यकाल सुरु गर्ने व्यवस्था छ।

बाइडेनसँगै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले पनि बुधबार नै सपथ लिएर कार्यकाल सुरु गरेकी छन्। अमेरिकामा उपराष्ट्रपतिमा निर्वाचित हुने उनी पहिलो महिला हुन्।

राष्ट्रपति बाइडेनले ट्रम्प प्रशासनका कतिपय महत्वपूर्ण निर्णय सच्याउने घोषणा गरेका छन्। उनले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने घोषणा गरेका छन्। ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगमा रोक लगाएको थियो।

त्यस्तै जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा पुनः जोडिने तथा मुस्लिम बहुसंख्यक मुलुकबाट अमेरिका भ्रमणमा लगाएको प्रतिबन्ध खुलाउने, मेक्सिकोको सीमा क्षेत्रमा बनाइँदै गरेको पर्खालको निर्माणकार्य रोक्नेलगायतका निर्णय सच्याउने घोषणा बाइडेनले गरेका छन्। बाइडेनले अमेरिकाको राष्ट्रपतिको कार्यबार समाल्दै गर्दा यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्प भने उक्त समारोहमा सहभागी नभई आफ्नो गृहनगर फ्लोरिडा उडेका छन्।



प्रतिक्रिया दिनुहोस्