Logo

१६५ लैङ्गिक विभेदमा आधारित हिंसाका घटना



काठमाडौँ, ८ माघ: गत महिनामा मुलुकभर १६५ महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखिकरण गरिएको छ । महिला पुन स्थापना केन्द्र (ओरेक)ले आज सार्वजनिक गरेको महिलामाथि हुने हिंसा सम्बन्धी पुस महिनाको प्रतिवेदनअनुसार सबैभन्दा ८८ वटा (५३ प्रतिशत) घरेलु हिंसा घट्ना रहेका छन् ।

यसैगरी २८ वटा, बलात्कार, २७ सामाजिक हिंसा, आठ मानव बेचबिखन, चार यौन दुव्र्यवहार, चार हत्या, दुई बलात्कारको प्रयास, दुई विद्युतीय अपराधलगायतका घटना रहेको ओरेकको तथ्याङ्क छ । ओरेकले आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका (१३९) तथा विभिन्न सञ्चारमाध्यमबाट प्राप्त २६ तथ्याङ्कका आधारमा १६५ लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क सङ्कलन गरेको जनाएको छ ।

उमेरको आधारमा विश्लेषण गर्दा सबैभन्दा धेरै ५७ जना १७ देखि २५ वर्ष उमेर समूहका महिला हिंसाको जोखिममा रहेको पाइएको छ । यसपश्चात हिंसामा पर्ने सबै भन्दा बढी ४६ जना २६ देखि ३५ वर्ष उमेर समूहका महिला छन् ।

यसैगरी प्रभावित र आरोपितको सम्बन्धलाई विश्लेषण गर्दा, सबैभन्दा बढी ७२ हिंसाका घटना श्रीमान्बाट भएको छ भने ३५ वटा हिंसाको घटना छिमेकीबाट र ३२ वटा परिवारका अन्य सदस्यवाट भएको पाइएको छ । तथ्याङ्क हेर्दा महिला हिंसा सबैभन्दा बढी सङ्ख्यामा आफ्नो श्रीमान्, आफन्त, घरपरिवारका सदस्य र आफु बस्ने समाजबाट हुने गरेको कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताए । यस किसिमको हिंसाले महिला जहाँ छन् त्यहीँ नै असुरक्षित छन् भन्ने कुराको पुष्टी गरेको बताउँदै उनले घरेलु हिंसा तथा महिलामाथि हुने हिंसा अन्त्यका लागि व्यक्तिगत सोँच र व्यवहारमा परिवर्तन गर्नुपर्ने बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्