Logo

भारतबाट भ्याक्सिन, चीनबाट ‘अघोषित नाकाबन्दी’



काठमाडौं, ८ माघ । यतिबेला चीनसँगको नाका ठप्पप्रायः छ । चीनले कोरोना भाइरसको महामारीको नाममा सीमामा निकै कडाई गरेर अघोषित नाकाबन्दी नै गरेको छ । यसले आयात निर्यात ठप्प छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन् ।

केरुङ र तातोपानी नाकाबाट चिनियाँ सामान सहज रुपमा प्रवेश पाएको छैन । कतिपय सामानहरु नाकाभन्दा टाढा नै अड्किएर व्यवसायी पीडामा परेका छन् । समुन्द्री मार्ग हुँदै सामान आयात गर्नुपर्दा ढुवानी खर्च बढ्न गई नेपाली बजारमा चिनियाँ सामानको मूल्य चुलिएको छ । सरकारले कूटनीतिक पहल गर्दा पनि चीन सकारात्मक बन्न सकेको छैन ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार चीनतर्फ ढल्केको बुझाईका आधारमा नाकामा कडाई गरेको बुझिएको छ । विगतमा पनि चीनले भूकम्पपछि तातोपानी नाका बन्द गरेको थियो । नाका खोलेपनि फेरि कोभिडको कारण जनाउँदै कडाई गरेको छ । जहाँ सामान काम नलाग्ने गरी चिनियाँ क्षेत्रमा बिग्रिएका छन् । यसले सयौंको संख्यामा व्यापारी डुबेका छन् ।

चीनले रसुवागढी र तातोपानी नाकाबाट नेपाल भित्रिने सामाग्रीहरु र कार्गोमा थप प्रतिबन्ध लगाएको हो । प्रतिबन्धले नेपालको अर्थतन्त्रमा ठूलो समस्या देखापरेको छ । व्यवसायी र नागरिकलाई निकै समस्या भोग्नु परेको छ ।

चीनले महामारीबीच नेपाल प्रति देखाएको प्रतिबन्धले नेपाललाई विभिन्न क्षेत्रमा असर पर्ने भएको छ । निर्माणाधीन क्रममा रहेको जलविद्युत आयोजनाको सम्पूर्ण सामाग्रीहरु चीन र नेपालको सीमामा अड्केको छ ।

चीनको ‘अघोषित नाकाबन्दी’ ले नेपालको एक अर्ब डलरको आर्थिक नोक्शानी पुग्ने देखिन्छ ।

८० प्रतिशत नेपाल भारत निर्यात र आयात भइरहँदा पनि चीन र नेपालबीचको कार्गो सम्बन्धमा केही प्रोटोकलहरु रहेको छ । नेपाली ट्रकहरु विना कुनै स्वीकृती कोलकाता र बिसाखापटनम सम्म जाने अनुमति रहेको छ । त्यसैगरी चीनले कहिले आफ्नो शहरमा नेपाली ट्रक भित्रिन नदिने विषय उजागर भएको देखिन्छ । चीनले नेपाली व्यापारहरुलाई व्यापार गर्न तीब्बत भ्रमणमा समेत रोक लगाएको छ । तत्काल नेपाली व्यापारीहरु रसुवागढी र तातोपानीमात्र प्रवेश गर्ने अनुमति दिएको छ । नेपाली ट्रकहरु मितेरी पुलसम्म मात्र जाने अनुमति छ । झानझियाङ र सेन्जेन प्रान्तको प्रोटोकल अनुसार नपाली ट्रकहरु चीनको मुख्यभुमिमा चल्न पाउनेछन् । तर, त्यसमा रोक आउँदा प्रश्न तेर्सिएको छ ।

चीनले नेपाली व्यापारीलाई तिब्बत भ्रमण गर्न रोकेको छ । स्थानीय व्यापारलाई बलियो बनाउन यस्तो शैली अपनाएको छ । व्यापारीहरु रसुवागढी र तातोपानीबीचको मितेरी पुलसम्म मात्र जान पाउँछन ।

दक्षिणी छिमेकी भारतले भने नेपाललाई कोरोना महामारीका बीच आवतजावत्मा प्रतिबन्ध लगाएको छ । महामारीको केही महिना सीमामा कडाई गरिएपनि पछि सामान्य अवस्थामा आएको थियो । आयात निर्यात पनि नियमित भइरहेको छ ।

भारतले आजै १० लाख डोज कोरोना भाइरसविरुद्धको भ्याक्सिन अनुदानस्वरुप दिएको छ । विश्वका सम्पन्न देशहरुले पैसा तिर्छु भन्दा पनि नपाइरहेको भ्याक्सिन नेपालले पाएको छ । भारतले नेपालसँगको प्रगाढ सम्बन्धलाई यसपटक फेरि प्रमाणित गरेको छ । महामारीलाई साझा चुनौती भन्दै भारतले सहयोगको प्रतिवद्धतालाई व्यवहारमा उतारेको हो ।



प्रतिक्रिया दिनुहोस्