Logo

पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी पुनः खुल्दै



काठमाडौं, माघ ९ । पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी पुनः खुल्ने भएको छ। श्रमिक पठाउने प्रक्रियामा केही संशोधन गरेपछि पहिलो चरणमा पाँच सय केयरभिगर पठाउने प्रोटोकलमा बिहीबार हस्ताक्षर भएको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले केयरगिभर पठाउने प्रोटोकलमा हस्ताक्षर गरेका हुन्।

पारिश्रमिक र बसोबासको दृष्टिकोणले निकै आकर्षक मानिए पनि सरकारी निकायले चासो नदिँदा पाँच वर्षदेखि इजरायल रोजगारी ठप्प थियो। रोजगारीका लागि इजरायल जान पाउने आसमा ठूलो संख्याका श्रमिकले केयरगिभरसम्बन्धी तालिम लिएका थिए।

त्यतिखेर तीन सय केयरगिभरलाई इजरायलमा रोजगारी दिने भनिए पनि करिब एक सय मात्र इजरायल जान पाएका थिए। खासगरी योग्य श्रमिक छनोट गर्न नसक्दा इजरायलका रोजगारदाताले श्रमिक मागलाई बेवास्ता गरेका थिए। निर्धारित कोटाअनुसार पठाउन नसकेपछि अनेकांै प्रयास गर्दा पनि इजरायली अधिकारीले चासो दिन छाडेका थिए।

विभागका महानिर्देशक दाहालले नयाँ सम्झौतापछि पुरानो प्रक्रिया र सहमतिको औचित्य सकिएको बताए। ‘पहिला बिटुबी ९निजी क्षेत्र र निजी क्षेत्र० अनुसार श्रमिक पठाउने भनिएको थियो,’ उनले भने, ‘अब जिटुजी (दुवै मुलुकका सरकारी निकाय) प्रक्रियाबाट श्रमिक पठाइनेछ।’

गएको असोज १४ गते श्रमिक आपूर्तिबारे नेपाल र इजरायलीच श्रम सम्झौता भएको थियो। सोही सम्झौतालाई कार्यान्वयन गर्न यतिखेर प्रोटोकल तयार पारिएको हो। प्रोटोकलमा हस्ताक्षरपछि सोमबारसम्म कार्यविधिको पनि टुंगो लगाएर श्रमिकलाई इजरायल पठाउने प्रक्रिया सुरु हुने दाहालले बताए।

केयरगिभरमा जान एसएलसी उत्तीर्ण भई १५ महिने स्वास्थ्यसम्बन्धी तालिम लिएको हुनुपर्नेछ। दस जोड दुई उत्तीर्णको हकमा तीन महिनाको केयरगिभर तालिम लिए पुग्छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्