Logo

नेकपाको झण्डा बोक्ने सवारी साधनलाई रिङरोडभित्र छिर्न रोक



काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टीको झण्डा बोकेर सवारी साधनमा यात्रा गरिएकाहरु रोकिएका छन् । प्रहरीले रिङरोड छिर्ने नाकाहरुमा नेकपाको झण्डा बोक्नेहरुलाई रोकेको हो ।

कोटेश्वर, कलंकी, सातदोबाटोलगायत मुख्य नाकाहरुबाट ठुलो संख्यामा मानिसहरु नेकपाको शक्ति प्रदर्शनमा सहभागी हुन छिरेका छन् । प्रचण्ड-नेपाल समूहले दुई लाख उतार्ने भने अनुसार काठमाडौं बाहिरबाट ठुलो संख्यामा मानिसहरु प्रवेश गरेका हुन् ।

नेकपाको हँसिया हथौडा र सुर्य चिन्ह अंकित झण्डासहित मोटरसाइकल र चार पाङ्ग्रे सवारीसाधनमा चढेकाहरु रोकिएका छन् । झण्डा नझिकेसम्म उनीहरुलाई प्रवेश रोक लगाइएको छ । कतिपयले झण्डा झिकेर प्रवेश पाएका छन् ।

प्रहरीले ठाउँ ठाउँमा चेकजाँच समेत गरिरहेको छ । शक्ति प्रदर्शनका क्रममा सम्भावित हिंसा मच्चिनसक्ने भन्दै प्रहरीले कडाई गरेको बुझिएको छ । -तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्