केपी ओली हिटलरको नेपाली संस्करणः माधव नेपाल


काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरको नेपाली संस्करण भएको टिप्पणी गरेका छन् । उनले ओलीले हिटलरकै शैलीमा शासन गरेर हिंसा मच्चाउन खोजिरहेको आरोप लगाएका छन् ।

‘केपी ओली हिटलरको नेपाली संस्करण हुन्,’ नेपालले नेकपाको आफू पक्षधरको शक्ति प्रदर्शनका क्रममा राजधानीमा बोल्दै भने,‘उनले संविधानमाथि कू गरेर देशलाई बर्बाद पार्न खोजेका छन् ।’ ओली तानाशाही भएको आरोप समेत लगाए ।

आफूहरु ओलीको एकाधिकारवादी व्यवहारबाट नझुकेको बताए । उनले भने,‘केपी ओलीसँग झुक्दैनौं, सँगै जाने कुनै सम्भावना छैन ।’

ओलीले विदेशीलाई प्रयोग गर्न खोजेको आरोप समेत लगाए । उनले भने,‘विदेशीसँगको कूटनीतिक सम्बन्धलाई समेत प्रयोग गर्न खोजे ।’ ओली सिद्धान्तमा विश्वास गर्ने मान्छे नभएको टिप्पणी गरे ।

ओलीले जहिले पनि आफूलाई हैरान पारेको बताए । उनले भने,‘ जहिले पनि हैरान पार्ने, दुःख दिने अनि मैंले सुमसुम्याउने, फकाउने र मिलाउने ।’