Logo

तीन महिनापछि देखिए ज्याक मा



एजेन्सी, ९ माघ । चिनियाँ अर्बपति ज्याक मा तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनले बुधबार १०० जना ग्रामीण शिक्षकहरुलाई सम्बोधन गरेको चिनियाँ सञ्‍चारमाध्यमले उल्लेख गरेको छ ।

चेचियाङ प्रान्तको तियान्मु न्युजलाई उद्धृत गर्दै चिनियाँ सञ्‍चारमाध्यमले गत अक्टोबर २४ पछि मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएको बताएका छन् । शिक्षकहरूलाई सम्बोधनका क्रममा उनले चिनियाँ व्यवसायीहरूले ग्रामीण उत्थान र साझा समृद्धिको पक्षमा काम गर्नुपर्ने बताएका छन् । ‘कोभिड-१९ महामारीपछि हामी फेरि भेट्नेछौं,’ माको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ ।’ उक्त कार्यक्रम ज्याक मा फाउन्डेसनले सन् २०१५ बाट सुरु गरेको वार्षिक कार्यक्रमकै निरन्तरता हो । यसअघि उक्त कार्यक्रम हैनान प्रान्तको सान्यामा हुँदै आएको थियो ।

कोरोना महामारीका कारण यस पटक भने उक्त कार्यक्रम अनलाइन माध्यमबाट आयोजना गरिएको जनाइएको छ ।केही महिनादेखि सार्वजनिक रुपमा नदेखिएका कारण ज्याक मा हराएको आशंका गरिएको थियो ।अलिबाबाका संस्थापकसमेत रहेका मा करिब २ महिनादेखि सार्वजनिक रुपमा देखा परेका थिएनन् । केही हप्ताअघि सम्पन्न ट्यालेन्ट सो ‘अफ्रिका बिजनेस हिरोज’ मा सहभागी हुने कार्यक्रम तय भए पनि ज्याक मा उपस्थित भएनन् । १५ लाख अमेरिकी डलर पुरस्कार रहेको उक्त सोको निर्णायकमा मा पनि रहने बताइएको थियो । पछि उक्त सोको वेबसाइटबाट उनको नाम र तस्बिर हटाइएको थियो । सामाजिक सञ्जालमा अपडेट भइरहने माले अक्टोबर १० यता ट्वीट पनि गरेका छैनन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्