Logo

अदालतलाई नधम्क्याउन ओलीले दिए प्रचण्डलाई चेतावनी, २३ गते शक्ति प्रदर्शन



माघ ९, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई नधम्क्याउन चेतावनी दिएका छन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पेशागत विशेष जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाइ सम्बोधन गर्दे ओलीले केहि व्यक्तिहरुले अदालतलाई धम्काउने काम गरेको भन्दै अदालतलाई नधम्क्याउन चेतावनी दिएका हुन् ।

उनले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका रुपमा लिइने बताए । उनले पार्टी र सरकारलाई कमजोर धरातलको संयुक्त मोर्चा जस्तो स्थितिमा पु¥याउनेहरु आफैँ पार्टी छाडेर गएको जनाउँदै अब शुद्धीकरण र देशव्यापी अभियानका साथ परिचालित हुने बताए । आफ्नो नेतृत्वको सरकारले भारतले मिचेको भूमिलाई नेपालको नक्शामा समेटेपछि अरुको पार्टीभित्रैबाट सरकारको विरोधमा खेल शुरु भएको उनको आरोप छ ।

ओलीले नेकपाकै प्रचण्ड–नेपाल पक्षले गरेको जनसभालाई सामान्य भएको टिप्पणी गर्दै साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा भन्न नमिल्ने तर्क गरे । ओलीले माघ २३ गते विशाल जनप्रदर्शन गर्ने र त्यो आजको आमसभा भन्दा ठूलो हुने दाबी गरे । ओलीले भने, ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।’

प्रचण्ड–माधव समूहले आयोजना गरेको सभालाई खिसिट्युरी गर्दै उनले भने ‘खुट्टी देखेरै पत्याइयो ।’ अधिकांश समय प्रचण्ड–नेपालको बिरोधमा उत्रनुभएका ओलीले मुलुकलाई अन्धकारतर्फ ढकेल्ने प्रयास सफल हुन नदिने बताए ।

कार्यक्रममा नेकपामा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रतिनिधिसभा विघटन न्यायोजित र आवश्यक भएकाले यसका विरुद्ध आन्दोलन गर्नुको औचित्य नभएको बताएका थिए । कमिटीका सचिव समीर नेपालले नेकपाले यही माघ २३ गते काठमाडौँमा जनसभाको आयोजना गर्ने जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्