Logo

सशस्त्र प्रहरीका सुविधा थपिए



काठमाडौं, १० माघ ।सशस्त्र प्रहरी बलका कर्मचारीका केही सुविधा थप भएका छन् । संगठनको २० औं स्थापना दिवसको अवसरमा कल्याणकारी कोषमार्फत दिइने सुविधा थप गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शुक्रबार नयाँ कल्याणकारी कार्यक्रम सार्वजनिक गरेका छन् ।

सशस्त्र प्रहरी कर्मचारीले अनिवार्य अवकाश पाउनुभन्दा एक वर्षअघि दुई लाखसम्म सहुलियत कर्जा पाउने भएका छन् । अवकाशपछि स्वरोजगारमा आबद्धताका लागि सहयोग पु¥याउने उद्देश्यले प्राविधिक तथा सीपमूलक तालिमका लागि पाँच वर्षभित्र तिर्ने गरी यस्तो सहुलियत कर्जा उपलब्ध गराउन लागिएको छ ।

त्यस्तै, प्राकृतिक प्रकोपबाट कर्मचारीको वासस्थान पूर्ण रूपमा क्षति भएमा कर्मचारीले ५० हजार रुपैयाँ राहत पाउनेछन् ।
नगद ऋणको कोटालाई मासिक दुई सय ५० जनाबाट दुई सय ७५ पु¥याइएको छ । दुईपांग्रे सवारीसाधन खरिदका लागि दिइने कर्जाको ब्याजदर पनि घटाइएको छ । यसअघि ७.७५ प्रतिशत ब्याज लिने गरिएकोमा घटाएर ६ प्रतिशतमा घटाइएको छ ।

प्रदेश १, २ र लुम्बिनीमा रहेका सशस्त्र प्रहरीका अस्पताललाई ३० बेडको बनाउने र स्थानीय सर्वसाधारणलाई समेत सेवा दिने तयारी सशस्त्र प्रहरी बलको छ । त्यस्तै, बागमती र सुदूरपश्चिममा पेट्रोल पम्प स्थापनाको समेत योजना बनिरहेको महानिरीक्षक खनालले बताए ।

यसैगरी, सेवा अवधि कम्तीमा पाँच वर्ष पुगेका कर्मचारीले साइकल तथा ट्रेडमिल खरिद गर्न एक लाख रुपैयाँसम्म सहुलियत कर्जा पाउने भएका छन् । कर्मचारीको तन्दुरुस्तीलाई ध्यान दिई यस्तो कर्जा दिन लागिएको महानिरीक्षक खनालको भनाई छ ।

एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कर्मचारीका सन्ततीलाई दिइने पुरस्कार अब प्लस टु उत्तीर्णलाई समेत दिइने भएको छ । सामुदायिक कलेजमा पढेर ३.२ तथा निजी कलेजमा पढेर ३.६ जिपिए ल्याउने सन्ततीलाई १५ हजार रुपैयाँ पुरस्कार दिने निर्णय भएको छ । सशस्त्र प्रहरीका सन्ततीलाई पढाइप्रति प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याइएको छ ।

अध्ययनको बानी विकास गर्न गणसम्मका कार्यालयमा पुस्तकालयसमेत स्थापना गर्न लागिएको छ । त्यस्तै, महिला कर्मचारीको समस्यालाई ध्यानमा राखी गणसम्मका प्रहरी कार्यालयमा शिशु स्याहार केन्द्र स्थापना गरिने तथा कार्यालयमा स्यानिटारी प्याड पनि निःशुल्क उपलब्ध गराउने नयाँ कार्यक्रममा उल्लेख छ ।

प्रहरी अस्पतालमा एमआरआई तथा सिटिक्यान सुविधा थप्न लागिएको छ । त्यस्तै अस्पतालमा अस्सिजन प्लान्ट थप्न लागिएको र पूर्वप्रहरी कर्मचारीले मात्र अक्सिजन रिफिलिङको सुविधा निःशुल्क पाउने भएका छन् ।

यसअघि जुनियर प्रहरीका सन्तानले मात्र पाउँदै आएको चिकित्सा, इन्जिनियरिङ वा इच्छाएको विषय अध्ययनका लागि ४ प्रतिशत ब्याजदरमा दिइने १० लाख रुपैयाँको सहुलियत ऋण अब सिनियर प्रहरी अधिकृतका सन्ततीले पनि पाउने भएका छन् । नयाँ सुविधाले सशस्त्र प्रहरी कर्मचारीमा थोरै भएपनि उत्साह थपेको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्