Logo

ढुंगा जस्तो शरीर छ भनेका रुप कार्कीको सपना अधुरै (अन्तरवार्तासहित)



माघ १०, काठमाण्डौ । हिजो नेपाली खेल जगतका तारा रुप कार्कीको निधन भयो । नेपालमा कम चर्चा हुने तर विश्वस्तरीय प्रतिस्पर्धा रोचक हुने पावर लिफ्टिङका विश्व कीर्तिमानी खेलाडी कार्कीको हृदयाघातका कारण निधन भएसँगै नेपाली खेलकूदले ठूलो क्षति बेहोरेको छ ।

गत पुष २५ गते प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै कार्कीले भनेका थिए, “यो मेरो शरिर ढुंगा जस्तै हो । सब स्ट्रङ छ । कसैको हातले हानेर केही हुँदैन । मान्छेले मलाई हान्दा केही फरक पर्दैन ।”

जति शत्तिलाशाली भए पनि जति आत्मविश्वास भए पनि कार्कीलाई दैवले छोडेन । कार्कीको हृदयाघातका कारण निधन भएको हो । अन्तर्राष्ट्रिय पावर लिफ्टिङ खेलमा विश्व कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेका रुप कार्कीको ५२ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ६, भलबारीका कार्की लामो समयदेखि अमेरिकाको भर्जिनियामा बस्दै आएको थिए । उनी केही समयअघि नेपाल आएर भरबारीमै बस्दै आएका थिए । शुक्रबार बिहान एक्कसि मुटुको चालमा गडबडी हुँदा उपचारका लागि काठमाडौं ल्याउदै गर्दा बाटोमै निधन भएको हो ।

पावर लिफ्टर कार्कीले ४४ देखि४९ वर्ष उमेर समूह र २२० पाउन्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको यूएसपीएल प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेका थिए । त्यसैगरी उनले २०१९ मा आयरल्यान्डको लाइमेरिकमा भएको पावर लिफ्टिङको मास्टर टु प्रतियोगितामा सयभन्दा बढी देशका करिब सात सय प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण पदकसँगै विश्व कीर्तिमानसमेत बनाएका थिए ।

उनले २०१९ कै जुलाईमा ५०–५४ वर्ष उमेर समूहको २२० पाउन्ड तौलमा समेत स्वर्ण पदक प्राप्त गर्दै आयरल्यान्डमा सम्पन्न आईपीएल प्रतियोगितामा छनोट भएका थिए । उनले नेपालमा भारत्तोलनको तालिम सचालन समेत गरेका थिए ।नेपालमा भारत्तोलनको तालिम सञ्चालन गरेर आगामी पुस्तालाई पनि विश्व च्याम्पियन स्तरमा पुर्याउने उद्देश्यले नेपाल फर्किएका थिए ।

केही दिनअघि मात्रै धमलासँग कुरा गर्दै कार्कीले आफ्नो योजना र चाहन सुनाएका थिए । उनले भनेका थिए–“ नेपाली दाजुभाइले मेरै खेल विधामा योगदान दिएर यही त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गएर मेरोभन्दा राम्रो मेडल जुनदिन ल्याउँछ त्यो दिन मेरो सबैभन्दा ठूलो सन्तुष्टी हुन्छ ।”

आफूले सिकेको जानेको सीप नेपालमै लगाउने उद्देश्य राखेर नेपाल फर्किएका उनी संसारबाट नै विदा भएका छन् । यससँगै उनका योजना पनि अपूरा भएका छन् । नेपाल र नेपालीको नाम बिश्वसामु पुर्याउन सफल भारत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी एवं च्याम्पियन कार्कीको निधनले खेलजगत स्तब्ध भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्