काठमाडौं, माघ ११ । माघको पहिलो साता बैंकिङ प्रणालीमा निक्षेपको वृद्धिदर ऋणात्मक देखिएको छ । निक्षेप मात्र होइन, सुधारोन्मुख कर्जा वृद्धिदर पनि संकुचनमा आएको छ ।
नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार २७ ओटा वाणिज्य बैंकहरूको माघको पहिलो साता निक्षेप वृद्धिदर ३ अर्बले घटेर कुल निक्षेप ३७ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको छ । यसअघिको सातामा २१ अर्ब रुपैयाँले निक्षेप वृद्धि हुँदा कुल निक्षेप ३७ खर्ब ८२ अर्ब रुपैयाँसम्म पुगेको थियो ।
यसैगरी कर्जावृद्धिमा पनि माघ पहिलो साता ८ अर्बले संकुचन आउँदा कुल कर्जा ३२ खर्ब ३६ अर्बमा सीमित भएको छ । यसअघि पुस मसान्तसम्म यस्तो कर्जा ५९ अर्बले थपिँदा ३२ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको थियो ।
पुस मसान्तसम्ममा उद्योगी तथा व्यवसायीहरूले सरकारलाई कर बुझाउनुपर्ने भएकाले माघ पहिलो साता निक्षेप तथा कर्जा दुवैको वृद्धिदरमा संकुचन आएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् ।
उनका अनुसार विशेष गरेर संस्थागत निक्षेपकर्ताहरूले बचतबाट सरकारलाई कर तिर्ने गर्छन् र अन्य संस्थाहरूले ऋण लिएर भए पनि कर तिर्ने गर्छन् । ‘दूरसञ्चार, विद्युत् प्राधिकरण, आयल निगमजस्ता संस्थाहरूले निक्षेपबाटै कर तिर्ने गर्छन् । व्यवसायीहरूले भने कर्जा लिएरै भए पनि कर तिर्ने गरेका छन् । यसकारण पुस मसान्तपछि निक्षेप वृद्धिमा कमी आएको हो,’ उनले भने ।
बैंकहरूबाट प्रवाह हुने कर्जाको ब्याजदर घटेपछि निक्षेपको व्याजदरसमेत घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेकाले निक्षेप संकलनसमेत ऋणात्मक भएको आकलन गरिन्छ । तर, पछिल्लो समय आयात बढ्न थालेकाले निक्षेप घटेको हुनसक्ने उनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।




प्रतिक्रिया