Logo

निकुञ्जभित्र धमाधम पुल निर्माण



चितवन, माघ ११ । चितवन राष्ट्रिय निकुञ्जले भरतपुर–माडी हुलाकी सडकमा निर्माण भइरहेका पुलहरूको वातावरणीय प्रभाव मूल्याङ्कनको सोधखोज गरेको छ । कुनै पनि आयोजना वातावरणीय प्रभाव मूल्याङ्कन नभई निर्माण गर्न नपाइने कानुनी मान्यता भए पनि माडीमा धमाधम पुल निर्माण भइरहेको भन्दै निकुञ्जले सो कानुनी आधार खोजेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले ठूला योजना बनाउँदा वातावरणीय प्रभाव मूल्याङ्कन हुनुपर्नेमा माडीमा बन्दै गरेका अधिकांश पुलको वातावरण्ीाय प्रभाव मूल्याङ्कन नभएको दाबी गरे ।

“कुनै पनि ठूला योजना अघि सार्दा त्यसले पार्ने वातावरणीय प्रभाव मूल्याङ्कन गराउनुपर्ने कानुनी मान्यता छ तर निकुञ्ज भएर जाने नारायणगढ–माडी–ठोरी हुलाकी सडकका अधिकांश पुल वातावरण प्रभाव मूल्याङ्कन नगरी सञ्चालन गरिएका छन्,” उनले भने ।

विश्व सम्पदा सूचीमा रहेको निकुञ्ज हुँदै जाने सडकमा बन्ने भौतिक पूर्वाधार कानुनी मान्यता पूरा गरेर मात्रै निर्माण हुनुपर्ने निकुञ्जको तर्क छ । निकुञ्जले पुल निर्माणको वातावरणीय प्रभाव मूल्याङ्कनको कानुनी वैधानिकता खोजेसँगै अहिले पुल निर्माणको काम रोकिएको बताइन्छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकमा अहिले ठूला साना ११ वटा पुल निर्माणका क्रममा छन् ।



प्रतिक्रिया दिनुहोस्