Logo

‘‘बाजे वकिल भन्ने प्रधानमन्त्री ओलीलाई अदालतको कठघरामा उभ्याउनुपर्ने” त्रिपाठीको माग



काठमाडौं, ११ माघ । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बाजे वकिल’ भनेको विषय आज सर्वोच्च अदालतमा उठेको छ । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाईका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भण्डारीलाई बाजे वकिल भनेर अपमान गर्ने ? भनी प्रश्न गरे ।

प्रधानन्यायाधीशको प्रस्ताव समेत अस्वीकार गर्ने ९४ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीलाई बाजे वकिल भनेर प्रधानमन्त्री ओलीले अदालतको उमेत अवहेलना गरेको भन्दै कठघरामा उभ्याउनुपर्ने भने त्रिपाठीले । ‘ अदालतले अवहेलनाको विरुद्ध पूर्जी काट्नुपर्छ,’ त्रिपाठीले बहसका क्रममा भने । उनले यसो भनेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बाहिरको कुरा नसुनौं, यताको कुरा सुनौं भने । बाहिरको कुरा सुन्न थाले कठघरामा धेरैलाई उभ्याउनुपर्ने अवस्था आउने उनको भनाई थियो ।

त्रिपाठीले महान्यायाधिवक्ता अग्नि खरेलको नैतिकतामाथि समेत प्रश्न उठाए । विगतमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार दिनुहुँदैन भन्ने अहिले आएर विशेषाधिकार भनी बचाऊ गर्ने ? भन्दै नैतिकतामाथि प्रश्न गरे । उनले बहसका क्रममा भने,‘महान्यायाधिवक्ता अग्नि खरेलजीमाथि गम्भीर नैतिक संकट देखिएको छ ।’

प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न मिल्ने कुनै संवैधानिक आधार नै नभएको जिकिर गरे । संसदीय प्रक्रिया बाहिर गएर संसद विघटन गर्न नपाउने संविधानमा उल्लेख रहेको उनको तर्क थियो । त्रिपाठीले विश्वका अन्य देशहरुको समेत अभ्यासबारे उल्लेख गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्