Logo

प्रधानमन्त्री ओलीले भनेः पाँच वर्षै संसदको जागिर खान पाउनुपर्छ भन्ने ?



काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद जागिर नभएकाले पूरा अवधि खानुपर्छ भन्ने नभएको तर्क गरेका छन् । उनले सांसद पद जागिर सम्झनेहरुले प्रतिनिधि सभा विघटनको विरोध गरिरहेको टिप्पणी गरे ।

‘पाँच वर्षै जागिर खान पाउनु पर्छ भन्ने ? सांसद भनेको जागिर हो ? ओलीले राजधानीमा अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा प्रधानमन्त्रीसँग अन्र्तक्रियामा भने,‘स्थिरता हुन नदिने अहिले स्थिरताको नाटक गर्ने ?’

प्रतिनिधि सभाको विघटनको विरुद्धमा लागेका नेताहरुको आलोचना गर्दै ओलीले अस्थिरता खडा हुने गतिविधि गरेको आरोप लगाए । उनले संसद विघटनको विरोध गर्नेहरुलाई संविधान, लोकतन्त्र, देश र जनताका विरोधी भने । ओलीले भने,‘संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक हो भनी कराउने मान्छे संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी हुन् ।’

देशलाई अस्थिरताबाट जोगाउन प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गरेको दाबी गरे । देशको हितका लागि आफूले कदम चालेको बताए ।

अपांगता भन्ने कम र बढी हुने र सबैमा हुनसक्ने बताए । आफू पनि अलिअलि अपांगता भएको मान्छे भएको बताउँदै भने,‘किड्नीको ह्वीलचेयर चढेर हिंड्ने मान्छे हुँ ।’ उनले आफू दुई पटक किड्नी फेरेको विश्वकै एकमात्र प्रधानमन्त्री भएको बताए ।

तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्