Logo

‘बाजे वकिल’ बोलीले प्रधानमन्त्री ओली ‘अप्ठ्यारोमा, बारद्वारा माफी माग



काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरी ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमाशा देखाउन’ भनेपछि उनको चौतर्फी आलोचना भएको छ । ९ माघमा उनको उक्त अभिव्यक्तिबारे चासो र आलोचनाहरु बढ्न थालेको छ । कारण हो- भण्डारी सबैभन्दा जेष्ठ वकिल र सबैका सम्मानित हुनु । तत्कालिन राजा महेन्द्रले प्रधानन्यायाधीशको प्रस्ताव राख्दा पनि भण्डारी वकालतमै रहे । उनी निरन्तर वकालतमै छन् । स्वयं भण्डारीले वकिलको अवहेलना अदालतको अवहेलना हो भनी तर्क गरेका छन् ।

सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि गठित संवैधानिक इजलाशमा सुनुवाईका क्रममा यो विषय उठेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेकाले कठघरामा उभ्याउनुपर्ने माग गरे । आजै सर्वोच्च अदालतमा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ । कानुन व्यवसायीमाथि बोल्नु अदालतको अवहेलना गर्नु हो भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्माले निवेदन पेस गरेका हुन् ।

‘‘बाजे वकिल भन्ने प्रधानमन्त्री ओलीलाई अदालतको कठघरामा उभ्याउनुपर्ने” त्रिपाठीको माग

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोशिएसनले भण्डारीलाई प्रधानमन्त्री ओलीले बाजे वकिल भनी टिप्पणी गरेकोमा खेद प्रकट गरेको छ । बारले आज विज्ञप्ति जारी गर्दै अभिव्यक्ति कानुन व्यवसायीहरुको अपमान भन्दै माफी माग्न भनेको छ ।

बारले अभिव्यक्तिबारे विज्ञप्तिमा भनेको छ,‘ प्रधानमन्त्री श्री खड्गप्रसाद ओलीले आफ्नो पार्टीको कार्यक्रममा सम्बोधन गर्ने क्रममा वकिलले कुरा फिटेका फिट्यै छन्, केही वकिलहरुले एक जना बाजे वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न भनी दिनुभएको अभिव्यक्रि संविधान, कानुन र सम्माननीय प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकूल छैन ।’ कृष्णप्रसाद भण्डारी वरिष्ठतम वरिष्ठ अधिवक्ता भएकाले समग्र कानुन व्यवसायीकै विरुद्ध मात्र नभएर अदालतकै मानहानी अवहेलनाजन्य भएको विज्ञप्तिमा उल्लेख छ ।

बारले भनेको छ्,‘प्रधानमन्त्रीज्यूको उक्त अमर्यादित, अपमानजनक र असहिष्णु अभिव्यक्तिप्रति नेपाल बार एशोसिएशन गम्भी र आपत्ती र खेद व्यक्त गर्दछ । उक्त अभिव्यक्तिप्रति तत्काल सार्वजनिक रुपमा माफी माग्न समेत सम्माननीय प्रधानमन्त्रीज्यूसँग जोडदार माग गर्दछौं ।’

उमेर, काम र आचरणका कारण सम्मानित ९४ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीप्रति प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले उनलाई अप्ठ्यारोमा पारेको छ । स्वयं उनका समर्थकहरुले पनि यसलाई राम्रो मानेका छन् । ओलीको यो बोलीले उनी अहिले अप्ठ्यारोमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्