Logo

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति, निकाल्यो कडा विज्ञप्ती (विज्ञप्तीसहित)



काठमाडौं, १२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको विरोध गर्नेहरू देशविरोधी हुन् भनेर दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएको छ । आज (सोमबार) एक विज्ञप्ती निकाल्दै कांग्रेसले प्रधानमन्त्री ओलीको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक भएको बताएको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ–‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री के.पी. शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहिको नैसर्गिक अधिकार हो । प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेकोे अधिनायक आकांक्षालाई थप उजागर गरेको छ । कुनै पनि रंग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु चैं देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ ।’

त्यस्तै, सर्वोच्च अदालतमा भई रहेको बहसलाई ‘तमासा’ को संज्ञा अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको पनि कांग्रेसको ठहर छ । ‘सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो । आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो ।’–विज्ञप्तीमा थप भनिएको छ ।

प्रधानमन्त्री ओलीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउंदै लगेको पनि कांग्रेसको जिकिर छ । आफ्नो कदमविरुद्ध उठेका स्वर र समूदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्ममार्फत प्रधानमन्त्रीले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहेको पनि कांग्रेसको भनाई छ ।

विज्ञप्तीमा थप भनिएको छ,‘उहाँको यो प्रवृत्ति दुःखदमात्रै होईन, लज्जास्पद पनि छ । संसद विघटनको असंवैधानिक कदम विरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ ।’



प्रतिक्रिया दिनुहोस्