Logo

बहसमा ओली, नेम्वाङ र खरेलदेखि ‘बाजे’ अधिवक्तासम्मको चर्चा



माघ १२, काठमाण्डौ । संसद विघटनसम्बन्धी बहस सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी छ । बहसमा उत्रिएका अधिवक्ताहरु र संवैधानिक इजलासका न्यायाधीशरुबीच रोचक र गम्भीर बहस भएको छ ।

सोमबारको बहसमा वरिष्ठ अधिवक्ता तथा बार एशोसिएशनका पूर्व अध्यक्ष शम्भु थापाले प्रतिनिधिसभा विघटनबारे राजपत्रको अतिरिक्ताङ्कमा सूचना प्रकाशित गरिएको जिकिर गर्दै यो तथ्यलाई पनि ढाकछोप गर्ने प्रयास भइरहेको प्रस्ट पारे । उनले अदालतलाई ढाँट्न, छल्न नमिल्ने तर्क गरेका हुन् । उनले संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको विशेषाधिकार नभएको दावीसमेत गरे । बहुमतको प्रधानमन्त्रीले सरकार चलाउँदिनँ भन्यो भने के गर्ने भन्नेबारे यसअघि इजलासले गरेको प्रश्नमा केन्द्रित हुँदै थापाले बहुमत हुनेबित्तिकै हाम्रो सबै अधिकार प्रधानमन्त्रीले पाउने हो र भन्दै संविधानलाई मार्न नपाईने बताए ।

थापाले संविधानबारे संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र अहिलेका महान्यायाधीवक्ता अग्नि खरेलप्रति पनि कटाक्ष गरेका छन् । प्रधानमन्त्री ओलीको कदम सही भन्ने नेम्वाङ र खरेलले विगतमा संविधानले प्रतिनिधिसभा विघटनको व्यवस्था नगरेको भन्दै अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री र उनका सहयोगीसँग फरक संविधान रहेको भन्दै वरिष्ठ अधिवक्ता थापाले कटाक्ष गरेका हुन् । संविधान निर्माणका क्रममा एउटा कुरा भन्ने र पछि आएर संविधानमाथि प्रहार गर्नु ठीक नभएको थापाको भनाइ थियो । सोमबार अर्का अधिवक्ता मेघराज पोखरेलले बहस गरेका थिए । पोखरेलले प्रधानमन्त्रीले संविभान बाहिर गएर प्रतिनिधिसभा विघटन गरेको बताए ।

उनले धारा ७६ को व्याख्या, अविश्वासको प्रस्ताव र निर्वाचन तथा विघटन असंवैधानिक भएको बहस गरेका हुन् । सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, विघटित प्रतिनिधिसभा सदस्यहरू कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्री र शशी श्रेष्ठको तर्फबाट थापा र पोखरेलले बहस गरेका हुन् । सोमबार वरिष्ठ अधिवक्ता थापाले ९४ वर्षका कानुन व्यवसायीले अदालतमा बहस गर्दा प्रधानमन्त्रीलाई किन छटपटी भन्ने प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सोमबार संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले कानुन व्यवसायमा ‘गुरुका पनि गुरु’ मानिने कृष्णप्रसाद भण्डारी बहसमा उत्रिँदा प्रधानमन्त्रीलाई छटपटी हुनुको रहस्य बुझ्न नसकिएको बताए । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि आफूलाई तमासे भनिएको भन्दै संवैधानिक इजलासमै प्रश्न उठाएका छन् ।

संसद विघटनको मुद्दामा सोमबारको सुनुवाइ सकिन लागेका वेला भण्डारीले न्यायाधीशहरुलाई सोधे, ‘के म तमासे हो, श्रीमान् ?’ जवाफमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अहिले यो विषयमा प्रवेश नगरौं भन्दै रोकेका थिए । थापाको बहस सकिनासाथ उक्त रिटमाथिको सुनुवाइलाई ‘हेर्दाहेर्दै’ मा राखेर सोमबारको सुनुवाइ अन्त्य गरेको छ । मंगलबार पुनः सुनुवाइ हुनेछ ।



प्रतिक्रिया दिनुहोस्