Logo

सीताराम गोकुल मिल्क्स पाँच करोड लगानी थप्दै



काठमाडौं, माघ १३ । सीताराम गोकुल मिल्क्स प्रालिले करीब ६ करोड रुपैयाँ लगानी थपेर उत्पादनमा विविधीकरण ल्याउने भएको छ । उपभोक्ताको मागबमोजिम नै सीताराम गोकुल मिल्क्सले उत्पादनमा विविधीकरण ल्याउन लागेको हो ।

उत्पादन विविधीकरणका लागि उपकरण खरीद, जनशक्ति विस्तार, भौतिक पूर्वाधारलगायत कार्यमा कम्पनीले करीब ६ करोड रुपैयाँ थप लगानी गर्न लागेको हो ।

विगत २५ वर्षदेखि सीताराम मिल्क्सले दूध र घिउ उत्पादन गरेर विक्री गर्दै आएको थियो । उद्योगले प्राविधिक जनशक्तिको अभावका कारण उत्पादन बढाउन सकेको थिएन । तर, पछिल्लो समय उपभोक्ताहरूले नै सीतारामका अन्य उत्पादनको पनि माग गरिरहेकाले उद्योगले थप उत्पादन गर्ने योजना बनाएको हो ।

पहिलो चरणमा परीक्षणका लागि कम्पनीले सानो परिमाणमा दही, लस्सी, आइसक्रीम, पनिर, फ्लेभर मिल्क, छुर्पीलगायत खाद्य वस्तुको उत्पादन गरी बजारमा पठाइसकेको छ । बजारबाट सकारात्मक प्रतिक्रिया आएकाले चाँडै नै उपभोक्ताको मागलाई सम्बोधन गर्दै ठूलो परिमाणमा यस्ता खाद्य वस्तुको उत्पादन गरी बजारमा आपूर्ति गर्ने कम्पनीको योजना रहेको कम्पनीका अध्यक्ष सुमित केडियाले जानकारी दिए ।

उनका अनुसार उत्पादनका परिकार थप गरेसँगै कम्पनीको थप लागत करीब २० प्रतिशत बढ्नेछ र यसबाट कम्पनीमा १० प्रतिशत जनशक्ति बढ्नेछ ।

अहिले यस कम्पनीमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गरी करीब ४ सय ५० जना मानिसले रोजगारी पाएका छन् । त्यसैगरी चितवन, रूपन्देही, नवलपरासी, काभ्रे, मोरङ, बारा र सर्लाहीलगायत जिल्लाका १ लाख परिवार किसान कम्पनीसँग आबद्ध रहेका छन् । किसानसँग दूध खरीद गर्दा सीताराम गोकुल मिल्क्समार्फत दैनिक करीब २४ लाख रुपैयाँ गाउँ जाने गर्छ । त्यसैले दुग्ध व्यवसायले आर्थिक रूपमा नेपालका शहर र गाउँलाई जोड्ने काम गरिरहेको केडियाको बुझाइ छ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्