Logo

मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया



काभ्रे, माघ १३ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकामा १० हजार ३०० रोपनी सार्वजनिक जग्गा अधिग्रहणको काम सकिएको छ । विश्वविद्यालयका लागि आवश्यक देखिएको मध्ये निजी जग्गा अधिग्रहणको प्रक्रिया थाल्न छलफल भइरहेको जिल्ला मालपोत कार्यालय धुलिखेलले जनाएको छ ।

पाँचखालको वडा नं ७, १० र १२ तथा नमोबुद्धको २ र ३ नं वडाको १० हजार ३०० रोपनी सार्वजनिक जमिन हालै विश्वविद्यालयको नाममा नामसारी भइसकेको प्रमुख मालपोत अधिकृत लोकबहादुर भण्डारीले बताए । “अब निजी जग्गा अधिग्रहणका लागि मुआब्जाबारे छलफल भइरहेको छ”, उनले भने। उनका अनुसार मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार विकास समितिका लागि आवश्यक देखिएको सार्वजनिक जमिनसँग जोडिएको ७१५ रोपनी व्यक्तिगत जमिन अधिग्रहण गर्न लागिएको हो ।

व्यक्तिगत जग्गा अधिग्रहण गर्न जिल्लास्थित मुआब्जा निर्धारण समितिले स्थानीयस्तरमा जमिनको दररेटबारे बुझिरहेको मालपोत कार्यालयले जनाएको छ । भण्डारीले भने, “जग्गाको दररेटको निर्णय भएपछि अधिग्रहण प्रक्रियामा जानेछौँ ।” उनका अनुसार जग्गा अधिग्रहण गर्न शिक्षा मन्त्रालयसँग पनि समन्वयव भइरहेको छ । दररेट निर्धारणलगत्तै विश्वविद्यालयललाई थप व्यक्तिगत जमिन हस्तान्तरण गर्न विश्वविद्यालय पूर्वाधार विकास समितिका नाममा दाखिल खारेज (हस्तान्तरण)को प्रक्रिया थालिनेछ ।

सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समिति गठन आदेशानुसार २०७६ असार ९ गते राजपत्रमा प्रकाशित गरेको थियो । सोहीअनुसार २०७६ मङ्सिर २३ गते विकास समितिका नाममा जग्गा पास गरिदिने निर्णय सरकारले गरेको थियो । विश्वविद्यालयका लागि उपयुक्त जग्गा खोज्ने क्रममा काभ्रेपलाञ्चोकको पाँचखाल र नमोबुद्ध नपाको सीमामा अवस्थित जग्गा उपयुक्त देखिएपछि सरकारले विश्वविद्यालयको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा रहने गरी जिल्ला मालपोत कार्यालयलाई जग्गा व्यवस्थापन प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।रासस



प्रतिक्रिया दिनुहोस्