Logo

एक पालिकाः एक खेल मैदान बनाइँदै



तनहुँ, माघ १३ । तनहुँको ऋषिङ गाउँपालिकामा खेलमैदान निर्माणका लागि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । एक पालिकाः एक खेलमैदान कार्यक्रमबमोजिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले गाउँपालिकाको झापुटारमा खेलमैदान निर्माणका लागि बजेट विनियोजन गरेको हो ।

ऋषिङ–१ झापुटारस्थित खेलमैदानका लागि रु २० लाख बजेट विनियोजन गरिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए । प्रदेश सरकारले विनियोजन गरेको बजेट स्थानीय तहमा पठाइने र उक्त कामको कार्यान्वयन स्थानीय तहले गर्ने मन्त्री गुरुङले बताए । खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेकाले सबै पालिकामा खेलमैदान र रङ्गशाला निर्माण गर्ने सरकारको लक्ष्य रहेको गुरुङले बताए ।

साथै प्रदेश सरकारले ऋषिङ–६ चालिसेस्थित खेलमैदानका लागि पनि रु १० लाख बजेट विनियोजन गरेको छ । खेलाडी, खेल प्रशिक्षक, महिला, बालबालिका, युवाको खेलकूदको मध्यमबाट शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासका लागि गाउँपालिकामा खेलमैदान र नगरपालिकामा रङ्गशाला निर्माण गरी खेलकूद विकासका पूर्वाधार तयार गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ ।

खेलमैदान निर्माणका लागि सम्बन्धित स्थानीय तहले साझेदारी गर्नुपर्नेछ । खेलमैदान निर्माणका लागि आवश्यक डिजाइन, लागत अनुमानसहितको स्वीकृत अनुमानित लागत र विस्तृत परियोजना प्रतिवेदन प्रदेश सरकारसमक्ष बुझाउनुपर्ने प्रावधान छ ।

अल्ट्रा म्याराथनको तयारी तीव्र

शहीद दिवसको अवसरमा यही माघ १६ गते आयोजना हुने चौथो व्यास अल्ट्रा म्याराथनको तयारी तीव्र पारिएको छ । चवालीस किमी दूरीको म्याराथनका लागि देशका विभिन्न जिल्लाबाट धावकहरुले नाम दर्ता गर्ने क्रम जारी रहेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७, रु ५५ हजार ७७ र सान्त्वना पाँच जनाले रु १६ हजार ७७ नगद पुरस्कार पाउनेछन् । नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशि वृद्धि गरेको हो । प्रथम, द्वितीय र तृतीय पुरस्कार राशिमा चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्ष प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः ८१ हजार ७६, ६१ हजार ७६ र ५१ हजार ७६ प्राप्त गरेका थिए ।

माघ १४ गतेसम्म नाम दर्ताको समय राखिएको र १५ गते धावकलाई अभिमुखीकरण सञ्चालन गरिनेछ । धावकले नियम पालना गरे÷नगरेको जाँच गर्नका लागि आठ ठाउँमा चेकविन्दु स्थापना गरिनेछ । व्यास–४ व्यास रेन्जपोष्ट, व्यास–१० पिजनहिल खहरे, व्यास–७ पाथ्रा मन्दिर, व्यास–७ पातल सत्रसय, व्यास–८ रिस्ती सोतीबेँसी, व्यास–८ सुनपोखरी, व्यास–८ गाडापानी र व्यास–८ पुलिमराङमा चेकविन्दु स्थापना गरिनेछ ।

म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटारचोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँडिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । गत वर्षको म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जितेका थिए । उनले ४४ किमी दूरी दुई घण्टा ५९ मिनेटमा पार गरेका थिए। प्रतियोगितामा कालिकोटका देवराज महतरा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय भएका थिए ।



प्रतिक्रिया दिनुहोस्