Logo

भारतीय राजदूतावासले ७२औं गणतन्त्र दिवस मनायो (फोटोफिचर)



काठमाडौं, १३ माघ । काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७२औं गणतन्त्र दिवस मनाएको छ । सो अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराउनुभयो र त्यसपश्चात भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । उक्त दिवसको अवसरमा राजदूतद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ३.६८ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरिएको पनि दूतावासले जनाएको छ ।

राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान पनि गरेको थियो । सोही दिन राजदूतले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरेको र उक्त समारोहमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली सो समारोहको मुख्य अतिथिका रुपमा सरिक थिए । समारोहमा नेपालका भूतपूर्व राष्ट्रपति रामवरण यादवले  ‘India-Nepal Alumni Network Sampark’ का साथै www.samparkbharatnepal.com वेबसाइटको शुभारम्भ गरेका थिए ।

समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार तथा चर्चित व्यक्तित्वहरुको उपस्थिति थियो । भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन उनीहरुले पुर्याएको योगदानलाई कदर गर्दै उनीहरुलाई सम्मान प्रदान गरिएको दूतावासले जनाएको छ । भारतीय राजदूतावासद्वारा आयोजित ‘ Maitri Through My Lens’ फोटो प्रतियोगिताका तीन उत्कृष्ट प्रतियोगीलाई चेक तथा प्रमाणपत्र प्रदान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्