Logo

निजी आवास पुनर्निर्माण ७५ प्रतिशत सम्पन्न



खोटाङ, माघ १४ । खोटाङमा निजी आवास पुनर्निर्माणको काम ७५ दशमलव शून्य ८ प्रतिशत मात्र सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणले बताएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमवार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको निजी आवास पुनर्निर्माण सम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा प्राधिकरणले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

२०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ९ हजार ३१० लाभग्राहीमध्ये ७ हजार ३९८ घर लाभग्राहीले पुनर्निर्माणको काम सम्पन्न गरेर तेस्रो किस्ता समेत लिएको बताइएको छ । पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ खोटाङका अनुसार २४२ घर लाभग्राहीले अहिलेसम्म आवास पुनर्निर्माणका लागि सम्झौता नै गरेका छैनन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ८ हजार ६० लाभग्राहीले दोस्रो किस्ता लिएको पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ खोटाङका प्रमुख घनश्याम उपाध्यायले बताए । यस्तै झुटो विवरण पेश गरेर सम्झौता गरी पहिलो किस्ता बुझ्ने एक जनाबाट रकम फिर्ता तथा दोहोरो भुक्तानी लिने तीन लाभग्राहीबाट रकम असुल गरिएको उनको भनाइ छ ।

यस्तै भूमिहीनलाई जग्गा खरीद गर्न उपलब्ध गराइने २ लाखका लागि जिल्लाभरमा पाँच जना पहिचान भएकामा चार जनाले उक्त रकम बुझेको र बाँकी एक जनासँग पनि सम्झौताको काम सम्पन्न गरिएको कार्यान्वयन एकाइका सूचना अधिकारी मणिराम ढकालले जानकारी दिए । पुनर्निर्माण प्रबलीकरणतर्फ ९७१ घर लाभग्राही छनोट भएकामध्ये ७८५ घरले सम्झौता गरेर काम थालेको र १८६ घरले सम्झौता नै नगरेको बताइएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्