Logo

जोशी र घिमिरेको तस्विर अंकित टिकटलाई स्वीकृती



माघ १४, काठमाण्डौ । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले वाङ्गमय शताब्दी पुरुष जोशी र राष्ट्रकवि घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

त्यस्तै माघ ५ गतेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको पदावधि थप गर्ने र नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट स्वीकृत गर्ने निर्णय भएको छ । त्यस्तै बिभिन्न आन्दोलनमा सहभागी, सहिद परिवार लगाएको तथ्याङ्क संकलन गर्ने र परिचय पत्र उपलव्ध गराउने निर्णय भएको छ ।

त्यसका लागि सरकारले समिति गठन गरेको छ । मन्त्रिपरिषद्को माघ ११ गते आइतबार बसेको बैठकले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा खानेपानी मन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहेको समिति गठन गरेको हो ।

यस्तै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०७७ स्वीकृत गरेको छ । विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टिन सम्बन्धी आदेश, २०७७ स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को माघ ५ गते सोमबार बसेको बैठकले अर्थमन्त्रालयको प्रस्तावमा नेपाल सरकार प्रदेश र सथानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट स्वीकृति गर्ने निर्णय गरेको छ । यस्तै समपूरक अनुदान सम्बन्धी (तेस्रो संशोधन) कार्यविधि २०७७ र विशेष अनुदान सम्बन्धी (तेस्रो संशोधन) कार्यविधि २०७७ स्वीकृति गर्ने निर्णय पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस्