Logo

ओलीको तानाशाही कदमलाई त्यही रुपमा प्रतिवाद गर्न कार्यकर्ताहरुलाई दाहाल–नेपालको निर्देशन



काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले यही माघ २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने र देशव्यापी रुपमा जागरण पैदा गरेको आन्दोलनलाई अझै उचाईमा पुर्याउने निश्कर्ष निकालेको छ। नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको आज बसेको बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्याउनेमा जोड दिएको हो ।

उक्त समूहका नेता विष्णु रिजालकाअनुसार बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिंदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको स्पष्ट पारेका थिए । आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले कुनै द्धिविधाबिना लाग्नुपर्ने दाहाल–नेपालको भनाई थियो ।

अध्यक्षद्वय दाहाल र नेपालले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिएका थिए । बैठकले यही माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्