Logo

अमेरिकी सुरक्षा निकायद्वारा ‘आन्तरिक आतंकवाद’को चेतावनी



काठमाडौं, १५ माघ । अमेरिकामा नयाँ राष्ट्रपति फेरिएसँगै ‘आन्तरिक आतंकवाद’ त्रास बढेको खबर सार्वजनिक भएको छ । समाचारका अनुसार अमेरिकी सुरक्षा निकायका प्रमुखहरूले देशमा ‘आन्तरिक आतंकवाद’को जोखिम रहेको भन्दै चेतावनी दिएका हुन् । उनीहरूले गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनको नतिजासँग असन्तुष्ट व्यक्तिबाट जोखिम रहेको जनाएका हुन् ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटीले अमेरिकी संसद् भवनमा ६ जनवरीमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूबाट भएको आक्रमणले केही अतिवादीहरूलाई आत्मबल दिएको आँकलन गरेको समाचार बिबिसीले उल्लेख गरेको छ । तर, उक्त सूचनामा त्यस्तो कुनै ठोस योजनाको जानकारी नभएको पनि बताइएको छ ।

बुधबार जारी गरिएको एड्भाइजरीमा सफलतापूर्वक सम्पन्न राष्ट्रपतीय कार्यकालको उद्घाटन समारोहको ‘केही सातासम्म’ त्यस्तो जोखिम रहन सक्ने जनाइएको छ ।

‘सूचनाहरूले सुझाएअनुसार केही विचारहरूद्वारा निर्देशित हिंस्रक अतिवादीले सरकारले गरिरहेका काम र राष्ट्रपति फेरिनुअघिको अवस्थामा असहमति जनाउँदै गलत व्याख्यामा आधारित आफ्ना गुनासाले हिंसा गर्न वा उक्साइरहन सक्छन्’ निर्वाचित प्रतिनिधिहरू वा सरकारी सम्पत्तिमाथि उनीहरुको निसाना हुनसक्ने सूचनामा उल्लेख छ ।

सामाजिक सञ्जाल साइट टेलिग्राममा थुप्रै दक्षिणपन्थी समूहहरूले क्यापिटल भवनका आक्रमणकारीहरूलाई ‘स्वतन्त्रता पक्षधर योद्धा’ र ‘नायक’ को संज्ञा दिइएको समाचारमा जनाइएको छ । फेसबुक र ट्विटरमा त्यस्ता समूहहरूलाई प्रतिबन्ध लगाएपछि उनीहरूले टेलिग्राम प्रयोग गर्न थालेका हुन् ।

यही ६ जनवरीमा ट्रम्प समर्थकहरूले अमेरिका संसद्मा हंगामा गरेका थिए । अभियोजनकर्ताहरूका अनुसार क्यापिटल भवनमा मच्चाइएको हंगामालाई जोडेर अहिलेसम्म ४०० सन्दिग्ध व्यक्तिको पहिचान भएको छ भने १३५ जनालाई पक्राउ गरिसकिएको बताइएको छ ।-दृष्टिबाट/Photo: Agency



प्रतिक्रिया दिनुहोस्