Logo

तीन पालिका जोड्दै साइकल लेन निर्माणको पहल



–कृष्ण न्यौपाने दमौली, १५ माघ: तीन स्थानीय तहलाई जोड्दै साइकल लेन निर्माणको पहल थालिएको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले ब्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकासम्म साइकल लेन निर्माणका लागि पहल गरेको हो ।

ब्यासको छाब्दीदेखि बन्दीपुरको रामकोट हुँदै आँबुखैरेनी गाउँपालिकाको छिम्केश्वरीसम्म साइकल लेन निर्माणका लागि पहल थालिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । “बन्दीपुर गाउँपालिकाले नौ किलोमिटर साइकल लेन निर्माण गरिसकेको छ,” उहाँले भन्नुभयो, “ब्यासदेखि साइकल लेन निर्माण शुरु गरेर जिल्लाकै अग्लो स्थानमा रहेको छिम्केश्वरीसम्म साइकल लेन विस्तार गर्ने सोच राखेका छौ ।”

साइकल लेनमार्फत् पर्यटन र संस्कृतिको प्रबद्र्धन गर्ने अभियान चलाइएको अध्यक्ष थापाले बताउनुभयो । “साइकल लेनले ब्यासको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही, बन्दीपुरको रामकोट सामुदायिक घरबास, कोरिखा सामुदायिक घरबासलगायत अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई जोड्छ,“ उहाँले भन्नुभयो, “यसले तीन पालिकाकै पर्यटन प्रबद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास लिएका छौ ।” बन्दीपुर गाउँपालिकाले रु ११ लाखमा नौ किलोमिटर साइकल लेन निर्माण सम्पन्न गरेको छ । बन्दीपुरदेखि बाहुनभञ्ज्याङसम्म रु तीन लाख र बन्दीपुरदेखि रामकोटसम्म रु आठ लाखमा साइकल लेन निर्माण गरिएको छ । साइकल लेन निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् विपन्न वर्गलाई रोजगारी दिइएको थियो । गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङले साइकल लेन निर्माणमा ४४ जनालाई रोजगारी दिइएको जानकारी दिनुभयो ।

साइकल लेन निर्माण भएपछि बन्दीपुर गाउँपालिकाले साइकल प्रतियोगिता गर्ने तयारी गरेको छ । यसअगाडि डुम्रे बन्दीपुर दौड प्रतियोगिता हुँदै आएकामा अब साइकल प्रतियोगिताको तयारी गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । गाउँपालिकाले विकासका लागि गुरुयोजना नै बनाएर नै अगाडि बढेको छ । गाउँपालिकाले बन्दीपुरको बीस वर्षे गुरुयोजना तयार गरिसकेको छ । काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रकोबीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको सोच रहेको छ । बन्दीपुर आफैमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकोले यसलाई संरक्षण, संवद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रम अगाडि बढाउने उहाँको भनाइ छ ।

सोही बमोजिम गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट पदमार्ग पर्खाल निर्माण शुरु गरिसकेको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माणको काम भइरहेको छ । उक्त पदमार्ग एक हजार एक सय मिटर सम्पन्न भइसकेको छ । गाउँपालिकाले टुँडीखेलमा सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्ने योजना अगाडि सारेको छ । सिसाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करीब रु तीन करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । जमीनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।

बन्दीपुर गाउँपालिकाले तीन तहलाई जोड्दै साइकल लेन निर्माणको पहल थालेकामा ब्यास नगरपालिकाले प्रतिबद्धता जनाएको छ । ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ब्यास नगरपालिकाको क्षेत्रमा साइकल लेन निर्माणका लागि नगरपालिका सकारात्मक रहेको बताउनुभयो । “यो अभियान पर्यटन प्रबद्र्धनका लागि कोसेढुङ्गा हुने विश्वास गरेका छौ,” उहाँले भन्नुभयो । साइकल धावक चन्द्रबहादुर आलेले बन्दीपुरमा निर्माण गरिएको साइकल धावकको राम्रो सम्भावना रहेको बताउनुभयो ।

शहीद दिवसमा ब्यासमा सार्वजनिक बिदा

तनहुँको ब्यास नगरपालिकाले शहीद दिवसको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शहीद दिवसको अवसरमा नेपाल सरकारद्वारा प्रदान गरिँदै आएको सार्वजनिक बिदा केही वर्षयता कटौती भएको सन्दर्भ र ब्यास नगरपालिकाले सोही अवसरमा हरेक वर्ष अल्ट्रा म्याराथन गर्दै आएकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले आज सूचना जारी गर्दै ब्यास नगरपालिका–५ मानुङदेखि वडा नं ८ को पुलिमराङसम्म आयोजना हुने म्याराथनको परिप्रेक्ष्यमा शहीदको सम्मानस्वरुप सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था एवं सम्पूर्ण सामुदायिक तथा निजी शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गर्नुभयो ।

अल्ट्रा म्याराथनका लागि १४५ धावकको नाम दर्ता

ब्यास नगरपालिकाले शुक्रबार आयोजना गरेको चौथो अल्ट्रा म्याराथनका लागि १४५ धावकले नाम दर्ता गरेका छन् । प्रत्येक वर्षको शहीद दिवसको अवसरमा आयोजना हुने अल्ट्रा म्याराथनका लागि बिहीबारसम्म १४५ धावकले नाम दर्ता गराएका हुन् ।

ब्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले नाम दर्ता गराएका धावकलाई बिहीबार नै रुटको बारेमा जानकारी दिनुका साथै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । ब्यास नगरपालिका–५ मानुङदेखि ब्यास नगरपालिका–८ पुलिमराङसम्मको ४४ किमिदूरीको म्याराथनको तयारी लगभग पूरा भएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७, रु ५५ हजार ७७ र सान्त्वना पाँच जनाले रु १६ हजार ७७ नगद पुरस्कार पाउनेछन् । नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशि वृद्धि गरेको हो । प्रथम, द्वितीय र तृतीय पुरस्कार राशिमा रु चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्ष प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ प्राप्त गरेका थिए । धावकले नियम पालना गरे नगरेको जाँच गर्नका लागि आठ ठाउँमा चेकविन्दु स्थापना गरिनेछ ।

ब्यास नगरपालिका–४ ब्यास रेन्ज पोष्ट, ब्यास नगरपालिका–१० पिजनहिल खहरे, ब्यास नगरपालिका–७ पाथ्रा मन्दिर, ब्यास नगरपालिका–७ पातल सत्रसय, ब्यास नगरपालिका–८ रिस्ती सोतीबँेशी, ब्यास नगरपालिका–८ सुनपोखरी, ब्यास नगरपालिका–८ गाडापानी र ब्यास नगरपालिका–८ पुलिमराङमा चेकविन्दु स्थापना गरिनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्गहुँदै अलँैचे–चापाघाट–अनशन चौतारी–सफा सडक–भोर्लेटार चोक– बैरेनी– दुम्सी– कलेस्ती– पाथ्रा– सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीबँेशी–बगुवा रिस्ती–बाहुन पोखराहुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

गत वर्षको म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जित्नुभएको थियो । उहाँले ४४ किमिदूरी दुई घण्टा ५९ मिनेटमा पार गर्नुभएको थियो । प्रतियोगितामा कालीकोटका देवराज महतरा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय हुनुभएको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्