Logo

भैरहवाका नापी अधिकृतसहित ३ जनामाथि अख्तियारको मुद्दा



काठमाडौं, १५ माघ । नापी कार्यालय भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित ३ जनामाथि भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । रुपन्देहीको खड्वा बनगाई–७, स्थित साविक कि.नं. ३८७ को सार्वजनिक जग्गा छुट दर्ताको नाममा व्यक्ति विशेषको नाममा दर्ता गरेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

तत्कालीन नापी अधिकृत दुवे, सर्भेक्षक रामराज यादव र जग्गाधनी मुना पासिनमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा गैरकानूनी रुपमा सार्वजनिक सम्पत्ति व्यक्ति विशेषको नाममा कित्ताकाट गरी क्षेत्रफल बढाउने कार्यमा संलग्न भई ९ लाख ८३ हजार ७ सय रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको थियो ।

उनीहरु तीनजनामाथि कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका सहायक प्रवक्ता वेद प्रसाद भण्डारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्