Logo

ओलीले प्रचण्डबारे भनेः हिजो जङ्गल बस्नुभएको थिएन, जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नुभयो



काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अब जाने ठाउँ कहीं नरहेको बताए । उनले प्रचण्ड चुनावै पिच्छे ठाउँ फेर्दे उम्मेदवार भएको उल्लेख गर्दै अब कतै जाने ठाउँ नरहेको टिप्पणी गरे ।

ट्रेड युनीयनको राष्ट्रिय कार्यकर्ता भेलामा आफू पक्षीय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै ओलीले अब प्रचण्ड जाने ठाउँ कतै रहेन ? भनिरहँदा कतैबाट आवाज निस्कियोः जङ्खल । त्यसपछि ओलीले प्रचण्ड विगतमा पनि जङ्गलमा नबसेको र अहिले पनि नबस्ने टिप्पणी गरे ।

ओलीले भने, ‘ न हिजो बस्नुभएको थियो न अब बस्नुहुन्छ । हिजो जङ्गल बस्नुभएको थिएन दिल्ली, लखनऊ र नोयडामा हुनुहन्थ्यो ।’ माओवादी जनयुद्धकालमा प्रचण्ड कहिल्यै जङ्गल नबसेको र आरामदायी जीवन भारतमा बिताएको बताए । उनले भने,‘जङ्गलमा लडाकुलाई बसाउनुभयो, अरुलाई बसाउनुभयो । जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नुभयो ।’

माओवादीका मुख्य नेताहरु जनयुद्धकालमा भारतको दिल्ली, नोयडा जस्ता शहरहरुमा बसेको विगतमा खुलासा भइसकेको थियो । यही विषयलाई प्रधानमन्त्री ओलीले आज उल्लेख गरे । दिल्लीमै तत्कालिन माओवादीसँग सात राजनीतिक दलले १२ बुँदे समझदारी गरेका थिए । त्यतिबेला गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई दिल्लीमै भेटेका थिए । उक्त भेटमा काँग्रेस नेता कृष्णप्रसाद सिटौला र डा. शेखर कोइराला पनि सहभागी थिए ।

नेकपा विभाजनपछि प्रचण्डको चर्को आलोचना गर्दै आएका प्रधानमन्त्री ओलीले प्रचण्डको विगत र वर्तमान जीवनशैलीबारे कडा टिप्पणी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्