Logo

होली वाइनको होली मनाउने ओली पशुपतिनाथमा पुगेर नाटक गरेः रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली काँग्रेस



काठमाडौं, १५ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाखमा चुनाव हुने सम्भावना एक वा दुई प्रतिशतमात्र रहेको बताएका छन् । चुनाव गर्नका लागि संसद विघटन नगरिएको उनको तर्क थियो । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ दर्शन गर्नुलाई नाटकको संज्ञा दिए । पौडेलसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः

तपाईँले शेरबहादुर देउवालाई कनभिन्स गरेर आन्दोलनको कार्यकम त घोषणा गर्नुभयो तर संसद् पुनः स्थापना कि निर्वाचन भन्ने बारेमा काँग्रेस किन अन्यौलमा पर्यो ?
हाम्रो माग संसद् पुनः स्थापना प्रतिनिधिसभा स्थापना नै हो । प्रतिनिधिसभा पुनः स्थापना कै माग राखेर हामीले आन्दोलन गर्ने हो ।
तर, काँग्रेस सभापति शेरबहादुर देउवा किन त्यसको लागि तयार हुनुभएन त ?
हैन उहाँ पनि यसको पक्षमा हुनुहुन्छ । उहाँले पनि यसमा अन्यथा भन्नु भएको छैन ।
नेपाली काँग्रेस अब संसद् पुनः स्थापनको एजेन्डा लिएर स्पष्टसँग आन्दोलनमा गयो ?
हैन प्रष्टै छ । अहिले सम्म हाम्रो आन्दोलन नै त्यही हो ।
बाहिर एउटा चर्चा छ कि तपाईँले सुरुदेखि नै यही भन्नु भएको थियो संसद् पुनः स्थापना हुनु पर्छ । तपाईं यही अडानमा हुनुहुन्थो तर सभापति शेरवहादुर देउवाले निर्वाचनको विकल्प छैन निर्वाचनमा जानु पर्छ निर्वाचनले नै समस्याको समाधान गर्छ भनेर अदालतलाई नै धम्क्याउन पनि उहाँले त आग्रह गर्नुभएको छ नि त ?
होइन । सभापतिले भनेको यतिमात्रै हो कि अदालतले कथंकाल त्यसलाई नै सदर गरिदियो भने चुनाव त लड्नु पर्ला नि भन्ने खालको कुरा मात्रै हो । उहाँले भनेको पुनः स्थापना हुनुहुँदैन भनेर कहाँ भनेको हो ? त मइ जने भनेर कहाँ भनेको हो र । नत्र आन्दोलन नैै किन हुन्थ्यो यत्रो दिन सम्म ।
होइन काँग्रेसको हिजोको निर्णय पनि टुंङगो लागेन नि ? अब संसद पुनः स्थापना कि चुनावमा जाने ?
टुङ्गो किन नलाग्ने ? टुङ्गै छ नि यो चाहिं असंवैधानिक छ, अलोकतान्त्रिक छ । यसको विरुद्धमा हामी संघर्ष गर्छौं । आन्दोलन गर्छौ हामीले यसलाई पुनः स्थापना कै पक्षमा आन्दोलन हो । हिजोको बैठकमा पनि मैले प्रष्ट रुपमा हाम्रो आन्दोलन भनेको ओलीजीको कदम असंवैधानिक भएकाले संवैधानिक गर्नु हो । त्यसकारण हामी यस्तो द्वुविधामा छैनौं भनेर त्यहाँ भनेकै हो ।
तपाईँ र कृष्णप्रसाद सिटौला प्रदेशमा, केन्द्रमा ठुलोठुलो सभा गर्नु पर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । तर, पार्टी सभापतिले चाहनु भएन नि ?
यो माघ महिनामा हामीले क्रियासिल सदस्य टुङग्याउने भनेका छौं । हामीलाई दोहोरो जिम्मेवारी छ । अहिले एकातिर पार्टीको अधिवेशन पनि गर्नुछ । प्रतिगमन विरुद्ध आन्दोलन पनि गर्नु छ । दुईवटै काम हामीले संगै गर्नु पर्ने भएकाले दुइटै सन्तुलन हामीले मिलाइराखेका छौं । यो माघ महिनामा हाम्रो सारा केन्द्रीय सदस्यहरु आफ्नो जिल्लामा जाने त्यहाँ क्रियासिल सदस्यता टुङगो लगाएर पठाउने सबै लागेर माघ महिना भित्रमा हाम्रो पार्टीको सबैथीहरु मिलेर क्रियासिल टुङगो लगाएपछि अधिवेशनको बाटो खुल्छ । हाम्रो पार्टीको अधिवेशन गर्न सक्नु पर्ने भएको छ । यो अत्यन्त ठुलो समस्या छ । त्यसलाई पनि सँगसँगै लिएर जानुपरेको हुनाले यसभित्र हामीले अहिले ठुलो आन्दोलन गर्न सकिराखेको छैनौं । त्यसकारण यो विरोधमा हामीले हाम्रो आवाजलाई पनि जिवित राख्ने संसद् पुनः स्थापना गर्ने कुरालाई जीवन्तता दिनको लगि हामी सडकमा नै छौं ।
काँग्रेसको महाअधिवेसन किन टुंगिएन ?
कतिपय टुङ्गिदै गएका पनि छन् । कतिपय टुङग्याइन्छ । त्यसको लागि हाम्रो प्रयत्न छ । बाँकी रहेका दुई तीन वटा जिल्लामा अब टुङ्ग्याइन्छ । जुन बाँकी छन् ती निर्वाचन समितिलाई जिम्मा दिने निर्णय पनि हिजो गर्यो । अब सबैकुराहरु टुग्याउँदै जाने हो ।
सदस्यता विवादमा फसिरहने कि अब निस्कने ?
निस्कने भन्नेमा नै त हो नि हाम्रो निर्णय ।
अब तपाईँहरुको विवाद समाधान हुन्छ ?
समाधान त हुनै पर्यो नि ।
अब नरहरी आचार्यले तपाईँहरुलाई साथ दिनु हुन्छ ? तपाईँ र उहाँको विवाद भएछ नि ?
अलिअलि विवाद त भइहाल्छ । वादे वादे जायते तत्व बोध त्यस्तो त भइहाल्छ नि कुण्ड कुण्ड पानी मुण्ड मुण्ड विचार त्योे त सामान्य कुरा हो । यस्तै कुराहरुलाई झेल्दै अगाडि बढ्ने हो । यो समाज हो समाज यसरी नै अगाडी बढ्छ ।
अब तपाईँले नेतृत्व गर्नुभएको छ ? संसद् पुनस्थापनाको लागि सडकमा जानुभएको छ ? विभिन्न जिल्लामा जानुभएको छ ? कार्यकर्ता के भन्छन् त ? नेताहरुको भनाई के छ ?
कार्यकर्ताहरुको देशका साथीहरुको पहिलो कुरा के थियो झलक्क सुन्दाखेरी भने नेकपाले बहुमत ल्याएका थिए जतासुकै उनीहरुकै छताछुल्ल थियो । सरकार उनैको थियो संसद् उनैको थियो अब त्यसैलाई मिल्काएर सडकमा फालीसके पछि । अब काग्रेसले पहिलो झल्कोमा त लाग्नु स्वाभाविकै हो, चुनाव आयो ल अब नेकपाले जितेका थिए तिनीहरु गए अब हामीले चुनावमा जाने हो । हामीलाई एउटा अवसर प्राप्त भएको छ भनेर साथीहरुलाई पहिलो त सुरुमा स्वभाविकै थियो । तर, कुरा के हो भने जब सबैले बुझ्दै गएपछि यहाँ त चुनाव आयो भनेर खुसी हुनु रहेन छ । यहाँ त संविधान नै जाने खतरा देखिन थाल्यो भनेर बुझे पछि लोकतन्त्र माथि नै प्रहार भयो, प्रतिगमन तिर जाने हो कि यसले संसद विघटन चुनाव नर्गनकै लागि देशलाई अन्धकारमा धकेल्नकै लागि गरेको हो कि भन्ने मान्छेले जब बुझदै गए तब अहिले साथीहरु सबै संविधानसभा, लोकतन्त्रको रक्षा हुन पर्यो चुनाव पछि लडौला नि भन्नेमा पुग्नुभएको छ ।
सभापतिले अहिले आन्दोलनको कुरा नगर्नुहास् भन्नुभयो रे ? 
होइन, उहाँले यो कुरा गर्नुभएको होइन । अदालतलाई धेरै दबाब दिनु हुँदैन भन्नुभएको हो ।
काँगे्रस एक भएर चुनावमा जान्छ ?
सबै जान्छौं । एक भएरै जान्छौ । अब ठुल्ठुलो सभाहरु गर्छौ ।
सर्वोच्चले माघ महिनामा संसद् पुनः स्थापना गरेन भने प्रधानमन्त्रीको कदमलाई सहि भनिदियो भने के गर्नुहुन्छ ?
म अहिले सम्म जे शंका गर्दै थिएँ त्यही हुँदै गइरहेको छ । आज मात्रै समाचार आइराखेको छ । निर्वाचन आयोग बैशाखमा चुनाव गर्ने तयारीमा छैन । बैशाख मा चुनाव सम्भव छैन भनिराखेका छन् । यो त एउटा एउटा बाहाना बनाई चुनाव टारिदिन्छन । केपी ओली सत्तामा बसिरहने मनपरी चलाईरहने देशलाई अधिनायकवाद तिर, सर्वसत्तावाद तिर लगिरहने, यो त ठुलो षड्यन्त्रमा फसेका छौ नि । यसको विरुद्ध सशक्त आन्दोलन गर्ने दिन आइसकेको छ । अब हाम्रो पार्टीको महाँअधिवेशन नगरी नहुनछ । पाटीको विधान नै खतम हुदै छ । त्यसैल हामीलाई दोहोरो दायित्व छ के ।
होइन गृहमन्त्री रामबहादुर थापाले नै भन्नुभयो नि वैशाखमा निर्वाचन हुन गाह्रो छ भनेर ?
निर्वाचन आयोगकै मान्छेले यसरी भनेका छन् । सर्वोच्चको फैसला पनि कहिले हो ? अब नेकपाको विभाजनको मुद्दा पनि कहिले छिनिने हो ? अब ९० दिन समय चाहिन्छ । वैशाखमा चुनाव हुँदैन त उनीहरुले भनिरहेका छन् ।
निर्वाचन हुँदैन भन्नेमा काँग्रेस ढुक्क छ ?
ढुक्क भइसकेको त भन्दिन अहिले । एक प्रतिशत २ प्रतिशत सम्भावना छ अहिले पनि । चुनाव गर्नको लागि विघटन गरकै होइन यीनीहरुले । त्यसकारण नियत नै ठिक छैन ।
तपाईन्हरु त हिन्दु धर्मको वकालट गरेको पार्टी नेपाली काँग्रैस । प्रधानमन्त्रीले त पशुपतिमा गएर पुर्जा गरिरहनु भएको छ ? किन कम्युनिष्ट पार्टीको अध्यक्षले पशुपतिमा गएर पुर्जा गर्नुभयो ?
यो उहाँको नाटक हो । उहाँले अस्ती भर्खर हायात होटलमा गएर होलिवाइनको होली मनाएको हो कि होइन ? उहाँले उता गएर क्रिस्चियन बन्ने, यता आएर हिन्दू बन्ने ? यो तानासाहाहरुको शैली हो । हिटलरले गाउँलेहरुको विचमा गएर गाउँले भाषामा प्रयोग गर्थे, मजदुरहरु सर्वहारा शोषितहरूसँग बच्नेभए मेरो साथमा लाग भन्ने, पूँजीपतिहरुको बीचमा गएर कम्युनिष्टबाट बच्र्ने भए मेरो साथमा लाग भन्ने गर्थे । ओली त्यस्तै गर्दैछन् ।

 

 



प्रतिक्रिया दिनुहोस्