Logo

१० वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक शुरु



दमौली, १५ माघ: तनहुँ जिल्लाका १० वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक शुरु भएको छ । सरकारले मध्यावधि निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय तनहुँले निर्वाचनको तयारी स्वरुप १० वटै स्थानीय तहमा आजदेखि मतदाता नामावली अद्यावधिक शुरु गरेको हो ।

निर्वाचनका कार्यालयका प्रमुख महेश शर्माका अनुसार १० वटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारीलाई अभिमुखीकरण पश्चात् अद्यावधिकको काम शुरु गरिएको छ । गत पुस ५ गतेसम्ममा मतदाता नामावलीका लागि नाम सङ्कलन भई सोही मितिसम्मा १८ वर्ष पुगेका व्यक्तिहरुको नामावली अद्यावधिकका लागि सबै स्थानीय तहमा नामावली पठाइएको छ ।

जस बमोजिम मतदाता नामावली प्रकाशन, कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सच्याउनका लागि निवेदन दिने, कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाणसहित उजुरी दिने, दोहोरो नाम हटाउन निवेदन दिनेलगायत कार्य गरिनेछ । आँबुखैरेनी गाउँपालिकाले आज नै सार्वजनिक सूचना प्रकाशित गरी मतदाता नामावली अद्यावधिकका लागि अनुरोध गरेको छ । वडा नं १ देखि ६ नं वडाको मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदाता नामावली विवरणमा नाम हटाउन, त्रुटि सच्याउन, दाबी विरोध गर्न, दोहोरो नाम परेमा हटाउनुपर्नेमा भएमा सात दिनको अवधिभित्र गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गरिएको सहायक नाम दर्ता अधिकारी अशोक घिमिरेले जानकारी दिए ।

निर्वाचन कार्यालयका अनुसार जिल्लामा विसं २०७४ को निर्वाचनपछि गत पुस ५ गतेसम्म जिल्लामा २० हजार २४ मतदाता थपिएका छन् । विसं २०७४ को निर्वाचनअनुसार तनहुँमा दुई लाख ११ हजार ३९६ मतदाता रहेका थिए । गत पुस ५ गतेभन्दा अगाडि दुई लाख ३१ हजार ४२० मतदाता पुगेका छन् । तनहुँमा गत निर्वाचनमा १० वटै स्थानीय तहमा गरी १३६ मतदान स्थल र २६५ मतदान केन्द्र रहेका छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्