Logo

राष्ट्रको दिगो विकासमा सुदृढ र एकजुट भएर लाग्न प्रदेश प्रमुख ‘प्यासी’को आग्रह



विराटनगर, १६ माघ: प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले देश, जनता, राष्ट्र, राष्ट्रियताको सम्मानका लागि सहादत प्राप्त गर्ने वीर शहीदहरुप्रति हार्दिक सम्मान व्यक्त गरेका छन् ।

शहीद दिवसका अवसरमा आज शुकामना सन्देश जारी गर्दै उनले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राख्न राष्ट्रियहित, लोकतान्त्रिक गणतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक-पटक गरेको ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गरेका छन् ।

“जहाँनिया शासन, तानाशाही निर्दलीय एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त पार्न आफ्नो जीवनलाई उत्सर्ग गर्ने महान्् शहीद र नेपाली धर्तीले जन्माएका सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि तथा श्रद्धासुमन अर्पण गर्दछु”, सन्देशमा प्रदेश प्रमुख अधिकारीले भनेका छन्, “बेपत्ता र पीडित नागरिकप्रति उच्च सम्मान व्यक्त गर्दै वीर, अमर, त्यागी, कर्मनिष्ठ र भविष्यद्रष्टा शहीदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको छ ।”

सन्देशमा उनले देशमा राजनीतिक सहमतिमार्फत दिगो शान्ति स्थापना गर्दै देश विकासमा जुट्न सकेमा सबै किसिमका विभेदको अन्त्य गर्न सकेमा शहीदहरुप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने बताउँदै राष्ट्रको सम्मुन्नत दिगो विकासमा अझ सुदृढ र एकजुट भएर लाग्न आम जनसमुदायमा अनुरोध गरेका छन् ।

यो दिवसले स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकताको मजबुत सूत्रमा बाँधिएर मन, वचन र कर्मले शहीदहरुको सपनालाई साकार पार्ने प्रेरणा मिलोस् भनी उनले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्