Logo

संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्नचिन्ह खडा भयो : कमल थापा



काठमाडौं, १६ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले संसद विघटन पछिको अबस्थाले संविधान र ब्यबस्थामाथि नै गम्भीर प्रश्नचिन्ह खडा भएको टिप्पणी गरेका छन् । आज जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले संसद विघटनले मुलुकमा संकट गहिरिएर गएको र संबैधानिक जटिलता पैदा भएको बताएका हुन् ।

नयाँ नेपाल निर्माण ,आमूल परिबर्तन र आर्थिक समृद्धिको लक्ष्य बोकेर भएको परिबर्तनले जनतामा सकारात्मक परिबर्तन दिन नसकेको भन्दै थापाले जनता भ्रष्टाचार ,कुशासन ,धर्मपरिबर्तन,बेरोजगारी र सर्बसत्ताबादको जातोमा पिसिनु पर्ने बाध्यात्मक अबस्था आउनु दुर्भाग्यपूर्ण भएको बताए। पार्टीको आगामी कार्यदिशा संगठन ,जनसंघर्ष र महाधिवेशन भएको भन्दै थापाले पार्टी बिभाजनको पीडा अब कहिल्यै भोग्नु नपर्ने समेत स्पष्ट पारे ।

पार्टीको भबिष्यप्रति निश्चिन्त हुन आग्रह गर्दै थापाले आफूसहित पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पबित्र धार्मिक ग्रन्थ ूगिताू छोएर पार्टी एकताको निमित्त प्रतिबद्ध भएकोले देश,जनता ,प्रजातन्त्र र कार्यकर्ताको निमित्त राप्रपालाई मुलुककै बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाएर छाड्ने दृढता समेत ब्यक्त गरे। देशब्यापी संगठन सुदृढीकरण अभियानमा केन्द्रित हुन थापाको विशेष जोड थियो ।

बैठकमा सचिवालय प्रमुखद्वय ध्रुब बहादुर प्रधान र भाष्कर भद्राले राप्रपाको बिचार र एजेन्डालाई स्थापित गर्ने बिषय अहिलेको प्रमुख मुद्दा भएको भन्दै जनताको माझमा जान ढिला गर्न नहुने बताए। चरणबद्ध रुपमा अध्यक्ष थापाले भर्चुअल बैठक जारी राखेको आजको बैठकमा एकतीस जिल्लाका अध्यक्ष र प्रतिनिधिहरुको सहभागीता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम