Logo

गोकर्णको हनुभैरव



काठमाडौं, माघ १७ । सतरुद्र संहिताअनुसार हनुमानलाई एकादश रुद्रमध्ये एघारौँ रुद्रका रूपमा पुजिन्छ । विभिन्न ग्रन्थले एकादश रुद्रका नाम कपाली, भव, अपराजित आदि फरक बताएको पाइन्छ ।

एउटा कथाअनुसार पुत्र प्राप्तिका लागि अञ्जना भगवान् शिवको आराधना गरिरहेकी थिइ्न् । त्यहीँ पुगेर शिवले ‘तिमीले एकादश रुद्र समान पुत्र पाउने छ्यौ’ भनी अन्तध्र्यान भए । अञ्जना हात फैलाएर त्यहीँ बसेकी थिइन्, वायुले उनको हातमा एक फल पारिदिए । त्यो फल तत्काल खाँदा उनको गर्भ रह्यो र त्यसैबाट हनुमानको जन्म भयो । यो कुरा वायुपुराणमा उल्लेख गरिएको छ ।

राजा दशरथको यज्ञमा कैकेयीको हातबाट एउटा चिलले यज्ञभाग चोरेर लग्यो तर विशाल आँधीबेहरीका कारण उसको चुच्चोबाट त्यो भाग खस्यो । त्यसलाई वायुले सम्हालेर अञ्जनाको हातसम्म पु¥याइदिए । मास पूरा भएपछि चैत्र शुक्ल पूर्णिमा, मङ्गलबारका दिन हनुमानको जन्म भएको मानिन्छ । त्यसैले हनुमानलाई एकादश रुद्रका रूपमा पनि मानिन्छ ।

हनुमानको सबैभन्दा धेरै वर्णन रामायणमा गरिएको पाइन्छ । हनुमानलाई रामभक्त, रामायणको महत्वपूर्ण पात्रका रूपमा चित्रित गरिएको छ । बज्र समान बलिष्ठ शरीर भएकाले उनलाई बजरङ्गबली पनि भनिन्छ । त्यसैगरी पवनले (वायु) नै पालनपोषण गरेकाले पवनपुत्र भनिन्छ । शैव र वैष्णव दुवै सम्प्रदायको समान आस्थाको केन्द्रबिन्दु एवम् साम्प्रदायिक समागमको केन्द्र हुनमान हुन् । दुवै सम्प्रदायका मानिसले समान रूपमा हनुमानलाई पुज्छन् । रामायणकालभन्दा रूद्रकाल प्राचीन हो । शुक्ल यजुर्वेदको रुद्रसंहिता नै रूद्रका बारेमा बयान गरिएको प्राचीन ग्रन्थ हो । तर, पछिल्लो कालमा आउँदा शैवभन्दा हनुमान विष्णुभक्त बढी देखिन्छन् । पौराणिक कथाहरूमा पनि रामको सबैभन्दा ठूलो सहयोगी हनुमानलाई नै देखाइएको छ ।

प्रतिमाशास्त्रमा हनुमानलाई एकमुख, पञ्चमुख, सप्तमुख र एकादशमुख स्वरूपमा देखाइने कुरा हनुमत् रशस्यम्मा उल्लेख गरिएको छ । अनुहार बाँदरको जस्तो भएको लामा–लामा दुई, चार, आठ, दश वा बाइस भुजा भएको किरीटकुण्डल, वाजु, बाला लगाएको, ज्वालावलीयुक्त प्रभामण्डल भएको कतै गरुडमाथि चढेको त कतै एक गोडा खुम्च्याएको स्थानक र घुँडा मारेको अर्धवज्रासन मुद्रामा देखाइएको पाइन्छ ।

हनुमानको मूर्ति स्थापना तथा पूजनको सुरुवात पाँचौँ शताब्दीदेखि भएको कुरा लैनसिंह वाङ्देलले बताउनुभएको छ । शेषनारायणमा रहेको अष्टबाहु हुनुमानको मूर्ति नै नेपालको प्राचीन हनुमान मूर्ति मानिएको छ । प्रायः नेपालमा हनुमानका धेरै मूर्ति १७औँ शताब्दीदेखिका भेटिएका छन् । अनिष्टबाट बच्न मल्ल राजाहरूले दरबारको ढोकामा हनुमानका मूर्ति स्थापना गर्न थाले ।

भक्तपुरका राजा जगज्योति मल्लको समयमा लेखिएको ‘नरपतिजयचर्यास्वरोदयटीका’ नामक ग्रन्थमा हनुमानको मूर्ति कस्तो–कस्तो निर्माण गर्ने भन्ने कुरा उल्लेख गरिएको छ । गोरखाका राजा पृथ्वीपतिले पनि गोरखामा हनुमानको मूर्ति स्थापना गराएका थिए । उत्तरमध्यकालमा हनुमानका मूर्तिमा पनि तान्त्रिक प्रभाव परेको देखिन्छ । भक्तपुरका राजा भूपतिन्द्र मल्लले बनाउन लगाएको पञ्चमुखी हनुमानको मूर्ति एउटा उदाहरण हो । दरबारको प्रवेशद्वारमा गणेश, हनुमान र नृसिंहका मूर्ति राखिन्थ्यो । मल्ल र शाहकालमा धेरैजसो हनुमानको मूर्ति स्थापना गर्दा राम मन्दिर र नारायण मन्दिरमा गरिएको पाइन्छ ।

तर, केही हनुमानको मूर्ति स्वतन्त्र स्थापना गरिएका छन् । गोकर्ण, उत्तरबाहिनी गुफामा रहेको पञ्चमुखी हनुभैरव मूर्ति एक भयङ्कर अद्भुत मूर्ति हो । यस्तो प्रकारको हनुमानको मूर्ति दोस्रो छैन ।पञ्चमुखी शब्दको अर्थ पाँचमुख भएको हो ।

हनुमानको पाँचमुख भएको मूर्ति साह्रै दुर्लभ मूर्तिभित्र पर्छ । हुनुमानको पाँचमुख उत्साह, बल, कीर्ति, आरोग्यता र निर्भीकताको प्रतीक मानिन्छ । रामायणमा वर्णित एउटा कथाका अनुसार रावणले जब कालीशक्तिको बलले श्रीराम र लक्ष्मणलाई पाताल पठाए, तब हनुमानले पञ्चमुखी स्वरूप धारण गरी राम र लक्ष्मणको उद्धार गरेका थिए । तन्त्रशास्त्रका अनुसार आठप्रकारका यौगिक शक्तिहरू ‘अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व’ प्राप्तिका लागि हनुमान पूजन गरिन्छ । साथै हनुमानलाई परब्रह्म र रौद्र रूपमा पनि स्मरण गरिन्छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्