Logo

अन्नपूर्ण–नारायण मन्दिरको पुजारीमा सहनशीला



काठमाडौं, माघ १७ । गुठी संस्थानले असन कमलाछींमा अवस्थित अन्नपूर्ण नारायण मन्दिरको मूल पुजारीका रूपमा ४८ वर्षीया सहनशीला शर्मारझालाई नियुक्ति गरेको छ। धार्मिक मठ मन्दिरको पूजापाठ कार्यमा राखिने मुख्य पुजारीका रूपमा पुरुषहरूकै बाहुल्य रहँदै आएकोमा महिला पुजारीको संख्या पनि बढ्न थालेको छ।

धार्मिक पूजापाठको लागि चाहिने सरसामग्री जुटाउने कार्य महिलाकै सहभागिता भए पनि पूजापाठमा भने पुरुषको वर्चस्व रहँदै आएको पाइन्छ। मठमन्दिरहरूमा सरकारले गर्ने पुजारी नियुक्ति संख्यामा पनि पुरुषकै संख्या बढी छ। पुजारीका रूपमा महिलाको संख्या बढेपछि त्यसको चर्चा पनि बढेको छ। कतिपयले त्यसलाई आलोचना गरे पनि धार्मिक कार्यमा पुरुषभन्दा बढी अभ्यस्त रहने महिला पुजारीमा नियुक्ति हुनुलाई परिवर्तनका रूपमा हेरिएको छ। नेपालका चर्चित मठमन्दिरहरूमा पुरुष पुजारी नै रहँदै आएका छन्। त्यसमा टीका र पूजा सामग्री तयार भने महिलाले गरिदिन्छन्। महिला पुजारी नियुक्तिले पुरुष मात्रै पुजारी हुन सक्छन् भन्ने मान्यता तोड्न केही बल पुग्ने अनुमान गरिएको छ।

पुरुषको तुलनामा धार्मिक कार्यमा बढी आस्था राख्ने महिलालाई पुजारीका रूपमा सरकारले कमै मात्रै नियुक्ति गर्छ। उपत्यकामा चारजना मात्रै महिला पुजारी रहेको गुठी संस्थान शाखा काठमाडौंका प्रमुख हरि सुवेदीले बताए। उनले भने, ‘महिला पुजारी राख्न नमिल्ने पनि होइन, धेरै मठ मन्दिरहरूमा राखिएको पनि छ, गुठी चलाउने, पूजाको सामान ठिक पार्ने काममा पनि महिला नै अघि छन्।’ उनले महिलाको मागपछि नियुक्ति गरिएको बताए।

असनको उक्त मन्दिरमा वर्षमा तीनपटक मात्रै गरिने पूजाको नाम अन्नपूर्ण नारायण हो। जसमा कृष्ण, अन्नपूर्ण र कुमारीको पूजा गर्ने प्रचलन छ। असनका झा खलकले यो पूजालाई पूख्र्यौंली पूजाका रूपमा लिन्छन्। अहिले यस मन्दिरका गुठीयार ४ परिवार मात्रै छन्। बुबा हुँदा बुबाले नै पूजा गर्दै आएकोमा बुवाको निधन भएपछि उनका भाईले पूजा गर्न थालेको सहनशीलाको भनाई छ। भाई विदेश गएपछि भने मन्दिरको पूजा गर्न आफू अग्रसर भएको सहनशीलाको भनाइ छ। उनले गुठी संस्थानलाई पुजारीमा नियुक्ति माग्दै पत्राचार गरेकी थिइन्। ‘यस्तो जिम्मा छोरीलाई दिने चलन बढ्नुपर्छ, मचाहिँ पूजापाठमा आफैं अग्रसर भएकी हुँ। पूजाआजा पनि गर्दै आइरहेकी थिएँ,’ उनले भनिन्, ‘मेरो वरिपरिको समाजले स्विकारेको छ।’

मन्दिरको पूजाआजाका लागि पुरुषहरू नभएपछि उनले पुजारीको दाबी गरेकी थिइन्। आफूले मन्दिरको पुजा परम्परा गर्दै आएको र बुझेकाले पनि पुजारी हुन अघि सरेको शहनशीलाले बताइन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्