११ र १२ का विद्यार्थीले अव ६ वटा विषय पढ्नुपर्ने


काठमाडौं, माघ १७ । पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने बाटो खोलिदिएको छ । बिहीबार बसेको परिषद् बैठकले कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप परिमार्जन गरी गणितको समस्या समाधान गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

परिषद्का अध्यक्ष, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले अब कक्षा ११ देखि नै विद्यार्थीले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित दुवैमध्ये एउटा पढ्न पाउने बैठकले सहमति गरेको केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले बताए ।

यसअघि तयार पारिएको नयाँ पाठ्यक्रमले कक्षा ११ बाटै गणित विषय अध्ययनको प्रावधान हटाएर सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अध्ययनको व्यवस्था गरेको थियो ।
पुस २८ गते सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले नयाँ पाठ्यक्रम कार्यान्वयनको खारेजीबारे परेको रिट निवेदनमा सुनुवाइ गर्दै मागबमोजिम नहुने र निर्देशात्मक आदेश जारी गर्दै रिट निवेदन खारेजी भएको फैसला सुनाएको थियो । यसले नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ को पठनपाठन अघि बढाउन बाटो खोलिदिएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले बताए ।

यसले कक्षा ११ मा भर्ना भएका ४ लाख विद्यार्थीको समस्या समाधानका साथै विज्ञानका विद्यार्थीलाई गणित अध्ययनका लागि समेत बाटो खोलिदिएर केन्द्रले पाठ्यक्रम परिमार्जन गर्दै अघि बढेको उनको भनाइ छ । पुरानो पाठ्यक्रमअनुसार कक्षा ११ र १२ का विद्यार्थीले ५ वटा विषय मात्र अध्ययन गर्थे भने अब नयाँ पाठ्यक्रमअनुसार विद्यार्थीले ६ वटा विषय अध्ययन गर्नुपर्नेछ । नागरिक दैनिकबाट