Logo

यी नेताको भित्र भित्र गम्भीर तयारी



काठमाडौं, १८ माघ । देशमा राजनीतिक ध्रुवीकरण तिव्र हुँदा प्रमुख तीन दलका नेताहरुको फरक समूहको बैठक बसेको छ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव समूह, नेपाली काँग्रेसको रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाका अलावा जनता समाजवादी पार्टीका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूह एक साथ बसेर भित्र भित्र तयारी गरेका हुन् ।

प्रचण्ड र माधव नेपालले पौडेल, सिटौला, यादव र भट्टराईसँग विभिन्न समयमा भेटिसकेका छन् । सबै नेताहरु प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा उभिएका छन् । हिजो पनि यो समूहका नेताहरुको बैठक बसेको छ । उनीहरु प्रतिनिधि सभा पुनःस्थापनामा केन्द्रित हुने गरी रणनीति बनाउन लागिपरेका हुन् ।

सर्वोच्च अदालतले पुनःस्थापनाको विपक्षमा फैसला सुनाएमा के गर्ने भन्नेबारे समेत यी नेताहरुको तयारी देखिएको छ । भरसक अदालतमाथि दबाब सृजना गर्ने र नभए सडक आन्दोलनमा जानेगरी तयारी भएको छ । विश्वस्त स्रोतका अनुसार पौडेल, सिटौला, यादव र भट्टराईले प्रचण्ड र नेपालसँग चुनावमा नजाने र विकल्पमा आन्दोलनमा केन्द्रित हुनेसम्मको छलफल गरिसकेका छन् ।

काँग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष चुनावमा केन्द्रित हुन जोडबल गरिरहेको छ । देउवा प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा छैनन् । जनता समाजवादी पार्टीभित्र पनि महन्थ ठाकुर पक्षधर प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा छैनन् । दलहरुभित्रै संसद पुनःस्थापना कि नयाँ चुनाव भन्नेबारे विवाद भइरहँदा एजेन्डा समान हुनेहरुबीच बाक्लो भेटघाट र संयुक्त रणनीतिको तयारी भएको छ ।

५ पौषमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिश गरी राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि दलहरुभित्रै नयाँ ध्रवीकरण बनेको हो । नेकपा विभाजन नै भएको छ । काँग्रेसभित्र संसद पुनःस्थापना कि चुनाव भन्नेमा विवाद छ । यस्तै विवाद जनता समाजवादी पार्टीभित्र पनि छ ।



प्रतिक्रिया दिनुहोस्