Logo

पेग, कू र शाषनपछिको म



(कविता)

अब म मस्त निदाउँछु
निदाउँन पनि त
सत्ता चाहिँदो रहेछ,
चुहिने छानो सम्झिन्छु
अनि ननिदाएका रात सम्झिन्छु
त्यति मात्र हो र ?
निदाउँन त
एक पेग लाउनुपर्ने रहेछ
मैले रित्तिएको गाग्रो सम्झिन्छु
अनि प्यासले छटपटिएको म
त्यसैले सोच्दैछु
अब एक पेग लगाउँछु
अनि मस्त निदाउँछु ।

संसार रमाइलो देख्न त थप्नुपर्ने रहेछ
ती पेगहरु ।
तर मैले
थपिएका ऋण सम्झिन्छु
थपिएका चुनावी नारा सम्झिन्छु
त्यति मात्रै होइन
संसार जित्न पाएका
प्रमाणपत्र सम्झिन्छु
हरियो रंगको राहदानी सम्झिन्छु
त्यसैले सोच्दैछु
यी सब बिर्सन
एक उपाय खोज्दैछु
अब कू गर्छु अनि
शाषनमा हातमा लिन्छु ।

शासनको अगाडि
क्षमता होइन
सत्ता बिक्छ
शक्ति बिक्छ
अनि तिमी पनि ।
बेरोजगार बस्दा त वास्तै भएन
छ्ड्के नजर लायौ, हिँड्यौ
अब त म पनि सोच्दैछु
शासन हातमा लिन्छु
तिमीलार्इ घृणा गर्छु
अनि निरंकुश बन्छु ।

यहाँ बन्ने असल होइन
शासक त निरंकुश पो हो ।
निरंकुशको पछि
तिमी लाग्छौ
समाज लाग्छ
अनि देश लाग्छ ।

विरोध गर्नेलाई
धम्किले तर्साउँला
शक्तिले पछारौँला
त्यही हेर्दै एक पेग थपुला
अनि बल्ल पो निद्रा लाग्छ
अब एउटै विकल्प छ मसँग
म पनि निरंकुश बन्छु
अनि मस्त निदाउँछु ।

-डेभिड पाण्डे
प्राइम टाइम्स टेलिभिजन



प्रतिक्रिया दिनुहोस्