Logo

वुहानको माछा बजारमा डब्लूएचओको अनुसन्धान टोली



एजेन्सी, १९ माघ। कोरोनाको उत्पत्तिबारे अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठनको टोलीले आइतबार वुहानको भ्रमण गरेको छ । सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको संक्रमण हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको मानिन्छ । टोलीका सदस्यहरूले हुआनानको माछामासु बजारको पनि भ्रमण गरेको जनाइएको छ । उक्त बजार करिब एक वर्षदेखि सिलबन्दीको अवस्थामा छ ।

समाचार संस्था एएफपीका अनुसार सुरक्षाकर्मीले डब्लूएचओको अनुसन्धान टोलीका सदस्यलाई मात्र बजारभित्र प्रवेश दिएका थिए । टोलीमाथि चिनियाँ अधिकारीहरूले कडा निगरानी गरेका छन् ।जनावरबाट मानिसमा कोरोना भाइरस कसरी स¥यो भन्ने अनुसन्धान गर्न डब्लूएचओको टोली वुहान पुगेको हो । अनुसन्धानका लागि खासै चासो नदेखाएको चीन बढ्दो अन्तर्राष्ट्रिय दबाबपछि डब्लूएचओको टोलीलाई अनुसन्धानका लागि प्रवेश दिन बाध्य भएको हो ।एएफपीका अनुसार भाइरसको स्रोत पहिचान गर्न निकै कठिन रहेको डब्लूएचओ टोलीको आकलन छ ।वुहानबाटै फैलिएको भनिएको भाइरसका कारण विश्वभर २० लाख जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

ग्लोबल टाइम्सले भाइरसको स्रोत वुहानको माछा बजार नभएको दाबी गर्दै खबर प्रकाशन गरिरहेको छ ।चिनियाँ अधिकारीहरूले कोरोना भाइरसलाई नियन्त्रणमा ल्याउन चीन सरकारले अपनाएको कदम र नागरिकले दिएको साथ अमूल्य रहेको बताउँदै आएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्