Logo

विप्लवसँग वार्ताको पहल गर्दै मणि थापा, जेल पुगेर ओलीसँग भेट



काठमाडौं, २० माघ । खानेपानीमन्त्री मणिचन्द्र थापाले नख्खु कारागार पुगी विहानै नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्त प्रकाश ओलीलाई भेटेका छन् । एनसेल मुख्यालयमा बम बिष्फोट गराएको अभियोगमा पक्राउ परेका सुदर्शन भनिने ओलीसँग उनले स्वास्थ्य अवस्था र वार्ताको विषयमा कुराकानी गरेको बुझिएको छ ।

थापा र ओली पुराना मित्र पनि हुन् । माओवादी जनयुद्धताका दुवै एउटै दलमा थिए । थापाले जनयुद्धकै समयमा माओवादी परित्याग गरेका थिए । ओली शान्ति प्रक्रियाका दौरान विप्लव पक्षमा लागेका थिए । उनलाई मध्यकमाण्ड इञ्चार्जको जिम्मेवारी समेत दिइएको थियो ।
एनसेन बम बिष्फोट प्रकरणमा पक्राऊ परेपछि ललितपुर जिल्ला अदालतको आदेशले उनी थुनामा छन् ।

मन्त्री थापाले हेमन्त प्रकाश ओलीसँग भेट गर्नुलाई विप्लव समूहसँग सरकारले वार्ताको अनौपचारिक पहल गरेको सन्देश समेत गएको छ । पूर्व माओवादी खेमाका थापालाई विप्लव समूहसँग समन्वय गरी वार्ताको वातावरण बढाउने भित्री जिम्मेवारी समेत दिइएको बुझिएको छ । उनी जिम्मेवारी पाएसँगै सक्रिय भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्