Logo

ओलीको निर्देशनमा जेलमै पुगेर मन्त्रीले भेटे विप्लवका नेता



काठमाडौं, माघ २१ । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रमचन्द विप्लव नेतृत्वका नेतालाई खानेपानीमन्त्री मणि थापाले जेलमै पुगेर भेट गरेका छन् । मन्त्री थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई भेटेका हुन् ।

मन्त्री थापाले आफू कारागारको खानेपानीसम्बन्धी अनुगमन गर्न जाने क्रममा नेता वलीसँग भेटघाट भएको बताएका छन् । संसद् विघटनको निर्णयपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा फुट आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहका नेतालाई आफ्नो पक्षमा तान्ने प्रयास गर्दै आएका छन्। त्यसै गरी प्रधानमन्त्री ओलीले सरकारद्वारा प्रतिबन्धित भूमिगत विप्लव समूहलाई मूल धारमा ल्याउन संवादको प्रयास अगाडि बढाएको देखिन्छ ।

प्रधानमन्त्रीको आग्रहमा नै मन्त्री थापाले वलीलाई भेट गरेका हुन् । सरकारले विप्लव समूहमाथि गत २९ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो । विप्लव समूहले वार्ताका लागि पहिले प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अगाडि सारेको छ ।

साथै उक्त समूहले हिरासतमा रहेका नेता, कार्यकर्तालाई छाड्नुपर्ने र वार्ताका लागि औपचारिक पत्र पठाए छलफलमा बस्न तयार रहेको विप्लव समूहका महासचिव चन्दले सन्देश पठाएका छन। तर सरकार भने विप्लव समूहले हिंसात्मक गतिविधि त्यागेको घोषणापछि मात्रै वार्ताको प्रक्रिया अगाडि बढाउने अडानमा रहेको छ ।

काभ्रेबाट ९ चैत २०७५ मा पक्राउ पर्नुअघि वली भूमिगत विप्लव समूहका मध्यकमान्ड इन्जार्च थिए । उनलाई महानगरीय अपराध महाशाखाले नख्खुमा एनसेल प्रालिको मुख्यालय अगाडि भएको विस्फोटमा संलग्न रहेको आरोपमा १० वैशाखमा पुर्पक्षका नख्खु कारागार चलान गरिएको थियो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्