Logo

आमहड्ताल : टाउको फुट्नेदेखि सेनाको बख्तरबन्द गाडीसम्म (भिडियो रिपोर्ट )



माघ २२, काठमाण्डौ । आम हड्तालका क्रममा नेकपा प्रचण्ड समुहका केही नेता घाइते भए भने कतिपय पक्राउ परे । बन्दकर्ताले सवारी साधनमा आगजनी र तोडफोडसमेत गरे । आमहड्ताललाई लक्षित गरेर बाक्लो सुरक्षाकर्मी परिचालन गरिए पनि छिटफुट घटना भएका छन् ।

प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा दाहाल नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । त्यस्तै स्थायी कमिटी सदस्य मातृका यादव पनि प्रहरीले प्रहार गरेको अश्रुग्यासको सेल लागेर घाइते भएका छन् । त्यस्तै कारी यादव र प्रदीप साह पनि घाइते भएको नेकपाले जनाएको छ । झडपका क्रममा केही प्रहरी पनि घाइते भएका छन् । त्यसैगरी केही गाडीमा समेत तोडफोडसमेत भएको छ । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाई फायर समेत गरेको थियो ।

आमहड्तालको दिन विहानै काठमाण्डौके गोंगबूमा पार्किङ गरेर राखिएको ट्याक्सी जलाइएको थियो । प्रदर्शनकारीहरुले प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका हुन् ।

उता धनगढीमा आमहड्तालकै दिन नेपाली सेनाले बख्तरबन्द गाडी सडकमा निकाल्यो । प्रचण्ड–माधव नेपाल र र ओली समूहको छुट्टाछुट्टै प्रदर्शन चलिरहेको समयमा नेपाली सेनाले बख्तरबन्दले धनगढी बजार परिक्रमा गराएको हो । सेनाले बख्तरबन्द प्रदर्शन गरेपछि केही बेर युवाहरू तितरवितर भएका थिए ।

काठमाण्डौमा भने आमहड्तालविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओली समर्थकले प्रतिकार जुलुस पनि निकाले । ओली समुहका नेता महेश बस्नेतसहितको टोली केपी ओलीको फोटो छातीमा टाँसेर, ’आइ लभ यू ओली’ भन्दै प्रदर्शनमा उत्रिएका हुन् । आमहड्तालबिच प्रदर्शनकारीहरू प्रदर्शनी मार्गदेखि कमलादी चोकसम्म पुगेका थिए ।

आमहड्ताललाई समर्थन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि सडकमा निस्किएका थिए । मुख्यमन्त्री शाहीसहित प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दीसिंह बुढा लगायत पनि आमहड्तालको समर्थनमा सडकमा निस्किएका थिए ।



प्रतिक्रिया दिनुहोस्