Logo

विहिबारदेखि देशैभर फोरजी, अब फाइभजी पनि विस्तार गरिने



माघ २२, काठमाण्डौ । नेपाल टेलिकमले १७ औँ वार्षिकोत्सवका अवसरमा फोरजी वाईफाईको रुपमा फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले देशका ७७ वटै जिल्लामा आफ्नो फोरजी सेवा विस्तार गरेको हो । एफटीटीएच वा तारवाला टेलिफोन नपुगेका वा वाइफाई सेवा उपलब्ध नभएका तर वायरलेस माध्यमबाट धेरै डाटा चलाउने देशभरीमा फोरजी ग्राहकहरुले अब भने सीपिइ customers premises equipment प्रयोग गरी सुलभ दरमा फोरजी वायरलेस होम ब्रोडब्यान्ड सेवाबाट इन्टरनेट प्रयोग गर्न पाउने भएका छन् ।

यो सेवा प्रतिमहिना रु ९ सयमा ६० जिबी, १५ सयमा १२० जिबी र बार्षिक रु ९ हजार ६ सयमा ७२० जिबी र रु १६ हजारमा १, हजार ४४० जिबी उपलब्ध हुनेछ । विशेष गरी पहाडी क्षेत्रबाट बढि गुनासो आउने भएकाले भुगोललाई पनि मध्यनजर गर्दै यस सेवालाई बिस्तार गरिएको हो । आगामी दिनमा समेत कम्पनिले ग्राहकको इच्छा र आवश्यकतालाई मध्यनजर गर्दै सेवा विस्तार गर्ने प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले बताए ।

फोरजी सेवा विस्तारसँगै अव फाइभजिको पनि तयारी सुरु भएको छ । ग्राहकहरुको गुनासो सम्बोधन गर्दै अन्य थप सेवा विस्तारलाई प्राथमिकता दिने टेलिकमका ईन्जिनियर तिकल लामिछाने बताउँछन् । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्री गुरुङले अबका दिनमा टेलिकमलाई कसरी अगाडि बढाउने भन्नेबारे समीक्षा गर्दै रुपान्तरण गरेर जानुपर्नेमा जोड दिएका हुन् । जतिसक्दो चाँडो ग्रामीण क्षेत्रमा पूर्वाधारको विकास गरी गुनासो नआउने गरी सेवा प्रदान गर्नुपर्ने मन्त्री गुरुङको भनाई छ ।

बार्षिकोत्सवका अवसरमा २० वर्ष काम गरेका ५० कर्मचारीलाई पदक प्रदान गरिनाका साथै व्यावसायिक साझेदारी सङ्घसंस्थालाई सम्मान गरिएको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा टेलिकमको आय रु ४२ अर्ब ९८ करोड तथा खुद मुनाफा रु नौ अर्ब ७४ करोड पुगेको छ । नेपाल टेलिकममा सरकारको ९१ दशमलव ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।



प्रतिक्रिया दिनुहोस्