Logo

भागरथीको बलात्कारपछि हत्यामा संलग्न को ? सरकारमाथि चौतर्फी दबाब



माघ २४, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ बर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नको प्रहरीले अझै पहिचान गर्न सकेको छैन । हत्या भएको दुई दिन बितिसक्दा समेत हत्यामा संलग्नको पहिचान हुन नसकेको हो । सनातम धर्म माबि खोचलेकमा कक्षा १२ मा अध्यननरत भागरथी बुधबारबाट हराईरहेकोमा बिहिबार मृत फेला परेकी थिईन । भागरथीको परिवारले भने बलात्कार पछि हत्याको भएको हुनसक्ने बताउदै आएको छ ।

यता भागरतीको हत्यामा संलग्नहरु पहिचान गरी कार्बाहीको माग गर्दै जिल्लाका बिभिन्न ठाउँहरुमा आन्दोलन भईरहेको छ । दोगडाकेदारको खोचलेक बजारमा स्थानीय र सनातन धर्म माविका विद्यार्थीहरुले शुक्रबारदेखि नै प्रदर्शन जारी राखेका छन । मृतक भागरथीका तस्बिर अंकित प्लेकार्ड बोकेर विद्यार्थीहरुले प्रदर्शन गरिरहेका हुन । भागरथीलाई न्याय दे, हत्यारालाई फासी दे लगायतका नाराहरु लगाएर विद्यार्थीहरु प्रदर्शनमा उत्रेका हुन् । हत्या पछि गाउँ नै शोकमा डुबेको छ ।

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव समुहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै हत्यारालाई कारबाही गर्न माग गरेका छन् । भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै अध्यक्षद्धयले पाशविक र अमानवीय कुकृत्यको संज्ञा दिदै घोर भत्र्सना गरेका छन् । विज्ञप्तिमा भनिएको छ–डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ । विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै प्रचण्ड र माधवले सत्यतथ्य सार्वजनिक गरि दोषीमाथि कडा कार्वाही गर्न माग गरेका छन् ।

शनिवार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि बैतडीमा किशोरीको बलात्कारपछि हत्या गर्ने अपराधी तत्काल पत्ता लगाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । सभापति देउवाले घटनाबाट आफू मर्माहत भएको उल्लेख गर्दै घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारबाही गर्न सरकारलाई आग्रह गरेका हुन् ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत बरिष्ठ प्रहरी उपरीक्षक जनकराज पाण्डे नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ भने नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोली पनी अनुसन्धानका लागी बैतडी पुगेको छ । भागरथीको हत्या नै भएको प्रहरीले प्रारिम्भक अनुसन्धानबाट अनुमान गरेपनि हत्याको कारण भने खुल्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्